रेसुंगा साउने मेला : शुक्रबार विशाल शोभा कलशयात्रा, शनिबार श्रीमदभागवत महापुराण

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

गत १ साउनदेखि गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसुंगामा साउने मेला लागिरहेको छ। प्रत्येक वर्ष साउनभर मेला लाग्ने गरेकोमा यो वर्ष श्रीमदभागवत महापुराणसमेत आयोजना गरिएको छ। रेसुंगा संरक्षण समितिले २६ साउनदेखि एक साता महापुराण सञ्चालन गर्दै छ।

श्रीमदभागवत महापुराणका लागि भारत राजस्थानका योगी शम्भुनाथजी महाराज आउँदै छन्। उनले गत वर्ष पनि रेसुंगा र आयोध्याको धार्मिक सम्बन्ध प्रगाढ बनाउन विशाल सन्त सम्मेलन तथा महायज्ञ गरेका थिए। अघिल्लो महायज्ञबाट प्रभावित भएर शम्भुनाथजी महाराजले अहिले पनि स्वतःस्फूर्त रूपमा श्रीमदभागवत महापुराणमा सहजीकरणको प्रस्ताव गरेको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए।

गत वर्षको विशाल महायज्ञले धार्मिक रूपमा रेसुंगालाई थप उचाइमा पुर्याएको र आर्थिक रूपमा समेत २५ लाख कोषमा रकम जुटाउन सकिएकाले आफूहरूमा पनि ऊर्जा थपिएको भुसालले बताए। महापुराणको पूर्वसन्ध्यामा २५ साउनमा तम्घासबाट विशाल शोभा कलशयात्रा हुने आयोजकले जनाएको छ। 

महापुराणका लागि सम्पूर्ण व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको रेसुंगा संरक्षण समितिका सचिव गोपाल पन्थीले जानकारी दिए। विगतका वर्षहरूमा जस्तै साउने मेलासँगै महायज्ञ आयोजना भएकाले पोखरीदेखि यज्ञशालासम्म बयोवृद्धाहरूलाई सहजीकरण गर्न दुईवटा घोडाको समेत व्यवस्था गरिएको पन्थीले बताए।

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणबाट निकै महत्त्वपूर्ण मानिने रेसुंगामा हरेक वर्ष साउनेसंक्रान्तिदेखि साउन महिनाभर नै मेला लाग्ने गरेको छ। साउन महिनामा रेसुंगामा रहेको पोखरीमा स्नान गरेमा सम्पूर्ण पाप नष्ट भएर पुन्य तथा समृद्धि प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ। चार धामबाट ल्याएको जल रेसुंगाको पोखरीमा मिसाइएकाले रेसुंगा पोखरीमा स्नान गरेमा पुन्य प्राप्त हुने मान्यताका कारण छिमेकी जिल्लाहरूबाट समेत यहाँ आउने गरेका छन्।

मेला अवधिभर धार्मिक प्रवचन, भक्तिसंगित, सामूहिक रुद्री, ग्रहजपलगायतका कार्यक्रम नियमित रूपमा भएको रेसुंगा संरक्षण समितिका सहसचिव यज्ञप्रसाद पन्थीले जानकारी दिए। रेसुंगामा रहेको भ्यु टावरबाट तराईका विभिन्न जिल्लाको समेत अवलोकन गर्न सकिने भएकाले रेसुंगाको महत्त्व अझ बढेको छ। हिमशृंखला तथा तराईका फाँटहरू अवलोकन गर्न सकिने भएकाले रेसुंगा क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्ने गरेको छ।

सुझावित समाचार