कपिलवस्तुमा १९ श्रीमानले दिए श्रीमतीविरुद्ध उजुरी

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

कपिलवस्तुमा श्रीमतीबाट पीडित भएकाे भन्दै १९ जना श्रीमानले प्रहरीसमक्ष उजुरी दिएका छन्। पछिल्लो समय त्यस्ताे उजुरी बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ।

गत आर्थिक वर्ष ०८०/८१ मा १९ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलले जनाएको छ। आर्थिक वर्ष ०७९/८० मा जिल्लामा २९ वटा पुरुष हिंसा भएको भन्दै उजुरी दर्ता थिए । आर्थिक वर्ष ०७०/७१ देखि पुरुष हिंसाको रेकर्डसमेत राख्न थालिएको सेलले बताएको छ।

त्यसयता वर्षको १० देखि १५ वटा मात्र पुरुष हिंसासम्बन्धी उजुरी पर्ने गरेकोमा गत आर्थिक वर्षमा भने १९ वटा उजुरी दर्ता भएको प्रहरीको भनाइ छ। महिलाजस्तै पुरुष पनि उजुरी गर्न आएपछि आरोपित महिलालाई बोलाएर छलफल गराउने गरेको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए।

‘समय, परिस्थिति र अवस्था फेरिँदै जाँदा नयाँ समस्या आएको भन्दै दुवै पक्षलाई मिलाएर पठाउने गरिएको छ,’ ओलीले भने, ‘धेरै पुरुष वास्तविक रूपमा श्रीमतीबाट पीडित भेटिएका छन्।’

पुरुषहरूले श्रीमती माइत गएपछि नफर्केको, लिन जाँदा झैझडा गर्ने गरेको, वैदेशिक रोजगारीमा गएको वेला पठाएको पैसा हिनामिना गरेकोजस्ता उजुरी दिएकाे प्रहरी नायब उपरीक्षक ओलीले बताए।

खान–लाउन नदिएको, कुटपिट गर्दै दुर्व्यवहार गरेको र घरमा काम नगरेर दुःख दिएको भन्दै पुरुष उजुरी गर्न आउने गरेको प्रहरीको भनाइ छ। त्यस्तै, घरमा नबस्ने, घर-व्यवहार नसम्हाल्ने, यातना दिने, विलासी रहनसहन, महँगो लत्ताकपडा र गरगहना मागेर निहुँ खोजेर दुःख दिने गरेको पुरुषहरूको आरोप छ।

सुझावित समाचार