‘हेमबहादुर मल्ल सम्मान’ डा. भेषबहादुर थापालाई प्रदान

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

नेपाल जनप्रशासन संघले ०७९ को ‘हेमबहादुर मल्ल सम्मान’ कूटनीतिज्ञ डा. भेषबहादुर थापालाई प्रदान गरेको छ । साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडको सौजन्यमा प्रदान गरिने दुई लाख रुपैयाँ राशिको यो सम्मान बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले डा. थापालाई सो सम्मान प्रदान गरेका हुन् । 

संघले कर्पाेरेसनको सौजन्यमा ०६० देखि यस्तो पुरस्कार वितरण गर्दै आएको छ । सार्वजनिक क्षेत्रमा नेतृत्वदायी भूमिका रहेर काम गरेकालाई हरेक वर्ष यो सम्मान प्रदान गरिँदै आइएको छ । स्व. हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पाेरेसनका संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रमुख सल्लाहकार पदमा बसेर काम गरेका थिए । 

उनको सम्झनामा यस्तो पुरस्कार प्रदान गरिँदै आइएको छ । संघको आयोजना र कर्पाेरेसनको सौजन्यमा यो सम्मान प्रदान गरिन्छ । सोही क्रममा यसपटक डा. थापालाई यो सम्मान प्रदान गर्ने निर्णय गरिएको थियो ।

पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका डा. थापाले ती क्षेत्रको संस्थागत विकास र अन्तर्राष्ट्रियस्तरमा नेपालको राष्ट्रिय हित र श्रीवृद्धिका लागि योगदान पुर्याएका छन् । त्यसकै कदरस्वरूप उनलाई यो सम्मान प्रदान गरिएको संघको भनाइ छ ।

सम्मान ग्रहण गर्दै डा. भेषबहादुर थापाले आफ्नो पाँच दशकको अनुभव सुनाएका थिए । नेपालको प्रगतिलाई विश्वसामु पुर्याउने मिहिनेत गरेको उनको भनाइ छ । 

यस्तै, राष्ट्रपति पौडेलले देशमा विधिको शासन सञ्चालन गर्न प्राज्ञिक तथा पेसागत संस्थाहरूको ठूलो भूमिका हुने बताए । यो सम्मानले सार्वजनिक क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई प्रोत्साहन मिल्ने पनि उनको भनाइ छ । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले तीनै तहका सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताए । साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठ र संघका अध्यक्ष मधुरमण आचार्यले सामाजिक उत्तरायित्वका विविध कार्यक्रम गर्दै आएको बताए ।

See More On

सुझावित समाचार