हैजाका बिरामी ३० पुगे, चार जिल्लामा आउटब्रेक

डेंगु संक्रमणबाट एकजनाको मृत्यु

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

देशभर हैजा संक्रमितको संख्या ३० पुगेको छ । पछिल्लो २४ घण्टामा ललितपुरमा थप तीनजनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३० पुगेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । संक्रमण बढ्दै गए पनि अहिलेसम्म हैजाका कारण मृत्यु भने भएको छैन । 

महाशाखाका अनुसार हालसम्म चार जिल्लामा हैजाको आउटब्रेक भएको, तर संक्रमण एक–अर्कासँग सम्बन्धित छैन । ललितपुरमा १९, काठमाडौंमा एक, कैलालीमा आठ र प्युठानमा दुईजनामा संक्रमण देखिएको इडिसिडीले जनाएको हो । पहिलोपटक ललितपुरको ठैबमा ४ साउनमा, १० साउनमा कैलालीमा, १४ साउनमा काठमाडौंमा र २० साउनमा प्युठानमा संक्रमण देखिएको थियो । 

त्यसैबीच, हैजा नियन्त्रणका लागि मन्त्रालयले प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँग सहकार्य र समन्वयमा द्रुत प्रतिकार्य टोली परिचालन गरेको जनाएको छ । प्रभावित क्षेत्रहरूमा नियमित केस अनुसन्धान, बिरामीको सक्रिय खोजी र केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी गरिएको छ । साथै जानकारीमूलक सन्देश प्रवाहमा समेत जोड दिएको छ । 

संक्रमण निगरानीका लागि १४४ अस्पतालमा झाडापखालाका बिरामीको नियमित निगरानी भइरहेको छ । साथै, जिल्ला र स्थानीय तहमार्फत खानेपानीको गुणस्तर जाँच र एउटै टोलबाट एक हप्ताभित्रमा पाँचजनाभन्दा बढी झाडापखालाका बिरामी देखा परेमा इडिसिडीको फ्री हटलाइन नम्बर १११५ मा सम्पर्क गरी जानकारी गराउने व्यवस्था गरेको छ । 

यसबाहेक, जनचेतना र सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन भइरहेको मन्त्रालयले जानकारी दिएको हो । वास, रेडक्रस, वाटरएड र अन्य साझेदार संस्थाहरूसँगसमेतको समन्वयमा पानी शुद्धीकरण र जनचेतनाका कार्यलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको हो । 

सचेतना गतिविधिलाई थप प्रभावकारी बनाउन मन्त्रालयले फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत डेंगु र हैजासँग सम्बन्धित सन्देशहरूको नियमित प्रसारण गरिरहेको बताएको छ । 

साथै काठमाडौं, ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा समेत विभिन्न सचेतनामूलक कार्यक्रमहरूका साथै खानेपानी निगरानी, केस व्यवस्थापन र रोकथाम तथा नियन्त्रणका क्रियाकलापहरूलाई थप प्रभावकारी बनाउन थप निर्देशन दिइएको जनाइएको हो । 

हैजा संक्रमण नियन्त्रणका लागि दीर्घकालीन योजनासमेत अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय हैजा नियन्त्रण÷रोकथाम योजना २०२४–२०३० मा समेत काम थालिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनाएका छन् ।

डेंगु संक्रमणबाट एकजनाको मृत्यु 
डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष देखिएको संक्रमणबाट एकजनाको मृत्यु भएको हो । 

हालसम्म दुई हजार ३६५ जनामा डेंगु संक्रमण देखिएको छ । देशभरका ७३ जिल्लामा फैलिएको संक्रमणबाट सबैभन्दा धेरै काठमाडौं उपत्यका प्रभावित भइरहेको महाशाखाले जनाएको छ । हालसम्म काठमाडौं उपत्यकाका ३६० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । काठमाडौंका २८७, भक्तपुर ४२ र ललितपुरका ३१ जनामा डेंगु पुष्टि भएको हो । 

यसबाहेक कास्कीमा १३७, झापामा १३३, चितवनमा ११६ र तनहुँमा ११० जनामा संक्रमण देखिएको हो । यस वर्ष डेंगु र हैजा सँगै फैलिइरहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गर्दै आएको छ ।

See More On

सुझावित समाचार