निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव चाँडै संसदमा लैजाऔँ : गृहमन्त्री लेखक

विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने गरी प्रस्ताव तयार पार्न आग्रह

मंगलबार, २२ साउन, २०८१
डिजिटल संस्करण

गृहमन्त्री रमेश लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

मंगलबार निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव चाँडै संसदमा लैजानुपर्ने बताएका हुन्।

‘निर्वाचन कानुनलाई एकीकृत गर्ने कुरा छ। निर्वाचन आयोग ऐनका केही दफा र सातवटा ऐनलाई एकीकृत गरिराखेका छौँ। यसबाट ८ वटा ऐन प्रभावित भइराखेका छन्। अब यसलाई अगाडि बढाऔँ,’ उनले भने, ‘यसलाई चाँडोभन्दा चाँडो संसदमा लैजाऔँ।’

निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव संसदमा आफूले बोक्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे। आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्ने पाउने गरी प्रस्ताव तयार पार्न गृहमन्त्री लेखकको आग्रह थियो।

नेपाली कांग्रेस र एमालेबीच राजनीतिक समीकरण निर्माण गर्दा संविधान संशोधन गर्ने सहमति भएको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई थप सुदृढ गर्ने गरी अगाडि बढ्ने बताए।

यस्तै, स्थानीय तहको उपनिर्वाचन आगामी मंसिरमा गर्नुपर्नेमा उनको जोड थियो।

सुझावित समाचार