सुनचाँदीको भन्सार दर घटाउन अर्थमन्त्रीलाई व्यवसायीको आग्रह

मंगलबार, २२ साउन, २०८१
डिजिटल संस्करण

व्यवसायीले सुनचाँदीको भन्सार दर घटाउन सरकारलाई आग्रह गरेका छन्। सुनचाँदी तथा रत्न आभूषण व्यवसायीले सोमबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर भन्सारदर घटाउन आग्रह गरेका हुन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीले अर्थमन्त्रीलाई भेटेर भारतमा समेत भन्सारदर घटेको बताउँदै नेपालमा पनि कम गर्नुपर्ने बताए।

भेटमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भारतमा सुनचाँदीको भन्सारदर २० प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरिएको, तर नेपालमा भने भन्सारदर २० प्रतिशत कायम रहेकाले व्यापार असन्तुलन भएको बताए । उनले भन्सारदरलाई घटाएर सुनमा ८ प्रतिशत र चाँदीमा ६ प्रतिशत कायम गर्न आग्रह गरे । हाल विद्यमान सिफारिस सिस्टमलाई व्यवस्थित गर्दै दैनिक ५० किलो सुनको आयात गर्ने व्यवस्था मिलाई त्यसमध्ये ३० किलो बैंकमार्फत व्यवसायीका लागि र २० किलो उत्पादक (उद्योग)का लागि छुट्याउनुपर्ने उनले बताए ।

भन्सार घटाउन अर्थमन्त्री सकारात्मक
छलफलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सुनचाँदी व्यवसायको समस्या समाधानका लागि सरकार तयार रहेको बताए । उनले भारतमा भन्सारदर घटेको र त्यसले नेपालमा पारेको प्रभावलाई सम्बोधन गर्न जरुरी रहेको स्वीकार गर्दै यस विषयमा सम्बद्ध निकायसँग परामर्श गरी छिट्टै निर्णय गरिने प्रतिबद्धता जनाए ।

यस्ता छन् व्यवसायीका माग र सुझाव
त्यस क्रममा तीनैवटा महासंघका तर्फबाट सुनचाँदीको क्षेत्रमा तत्काल सम्बोधन गर्नुपर्ने विषयलाई समावेश गरिएको पत्र हस्तान्तरण गरिएको थियो । त्यसमा सुनचाँदीसँग सम्बन्धित सम्पूर्ण कार्यसम्पादनका निमित्त वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंक सम्मिलित एकद्वार प्रणाली बनाइनुपर्ने, सीमित बैंकहरूलाई मात्रै सुन वितरणको जिम्मेवारी दिइनुपर्ने, तयारी गहनाको भन्सार बढाइनुपर्ने, झिटी–गुन्टाअन्तर्गत पैठारी हुने सुनको सीमा बढाइनुपर्ने, झिटी–गुन्टाअन्तर्गत भित्रिने सुनको खरिद बिलमा प्रवेश विन्दुमा भन्सार कार्यालयले छाप लगाउने र सोही निस्साका आधारमा पैठारीकर्ताबाट गहना व्यवसायीले फाइन गोल्ड खरिद गर्न सक्ने प्रावधान हुनुपर्नेलगायत सुझाव रहेका छन् ।

त्यस्तै, सुनचाँदीको कारोबारसम्बन्धी प्रस्ट निर्देशिका बनाइनुपर्ने मागसमेत उनीहरूले गरेका छन् । भेटमा नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यलगायतको सहभागिता थियो ।

सुझावित समाचार