बंगलादेशमा दुई महिनादेखि जारी नागरिक आन्दोलनले अन्ततः शक्तिशाली प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेसँगै अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन।
प्रधानमन्त्री पदबाट राजीनामा दिएर शेख हसिनाले देश त्यागेपछि सेनाप्रमुख वाकर–उज–जमानले सबैसँगको परामर्शमा अन्तरिम सरकार गठन गरिने घोषणा गरेका थिए। यसबीच जमानले देशभित्र क्रियाशील अधिकांश राजनीतिक दलका नेतृत्वसँग आगामी सरकारका विषयमा छलफल गरिएको बताएका छन्।
आन्दोलनरत विद्यार्थीहरूले भने नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै विद्यार्थी नेताहरूले अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन प्रस्ताव गरेका थिए।
विद्यार्थीको प्रस्तावमा प्राध्यापक युनुसले समेत सहमति जनाएको खबर सार्वजनिक भएको छ। युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न गरेको प्रस्ताव स्वीकारेको समाचार संस्था रोयटर्सले जनाएको छ।
युनुस हाल फ्रान्समा छन्। उनका प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले सामान्य स्वास्थ्य जाँचपछि उनी बंगलादेश फर्किने जानकारी दिएका छन्।
यता, बंगलादेशको दैनिक पत्रिका द डेली स्टारले स्रोतलाई उद्धृत गर्दै युनुसको भनाइ लेखेको छ, ‘जब मलाई विद्यार्थीको तर्फबाट सम्पर्क भएको थियो, त्यसवेला मैले स्विकारेको थिइनँ। मैले धेरै काम गर्न बाँकी छ भनेको थिएँ। तर, विद्यार्थीहरूले पटक–पटक मलाई अनुरोध गरेपछि म जिम्मेवारी लिन तयार भएको छु।’