सरकारमा जानलाई मात्र यो गठबन्धन बनेको होइन : उपप्रधानमन्त्री सिंह

मंगलबार, २२ साउन, २०८१
डिजिटल संस्करण

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले केही गर्नकै लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको दाबी गरेका छन्। 

मंगलबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको अनौपचारिक भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्। उनले सरकारमा जानका लागि मात्र यो गठबन्धन नबनेको बताए।

‘आशा निराशामा परिणत हुँदै गइरहेको कारणले गर्दा संसद्को सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार गठन गरेको कुरा तपाईंहरूलाई थाहा नै छ। सरकारमा जानका लागि मात्र यो गठबन्धन बनेको होइन,’ उपप्रधानमन्त्री सिंहले भने, ‘संसदमा सम्माननीय प्रधानमन्त्रीज्यूले यो सरकारको औचित्यबारे धेरै कुरा बताइसक्नुभएको छ। सरकारले केही न केही त गर्नैपर्यो भन्ने यसको राजनीतिक सन्देश हो।’

त्यस्तै, उपप्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयले सहरलाई बस्नयोग्य बनाउन गर्नुपर्ने काममा विशेष ध्यान दिने पनि बताए। देशैभरका सहरमा रहेको कनेक्टिभिटीका समस्या, फोहोरमैला व्यवस्थापनका समस्या, खुला जग्गाको अभावलगायतका विषयमा ध्यान दिने भन्दै उनले मन्त्रालयले सहरी विकास र व्यवस्थापनसम्बन्धी नीति आवश्यकताअनुसार समयसापेक्ष बनाउने पनि उल्लेख गरे।

सुझावित समाचार