कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।
४० सदस्यीय प्रदेश सभामा स्वतन्त्रसहित सत्तागठबन्धनका २३ सांसदले मुख्यमन्त्री कँडेलको पक्षमा मतदान गरे। ३७ सांसद मतदानमा सहभागी भएकामा विपक्षमा १४ मत परेको छ।
आजको बैठकमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही र राप्रपा सांसद सन्तोषी शाही अनुपस्थित थिए।
२७ चैत २०८० मा नेकपा माओवादी केन्द्रको समर्थनमा कँडेल मुख्यमन्त्री बनेका थिए। नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्तासमीकरण बनेसँगै माओवादी केन्द्रले ७ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, एमालेका सभामुखसहित १०, माओवादी केन्द्रका १३ तथा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक/एक सांसद छन्।