यो साताको कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १.४७ प्रतिशतको वृद्धि देखिएको छ। नेप्से ४०.७६ अंकले बढेर दुई हजार सात सय ९६.३८ को विन्दुमा कायम भएको हो।
आज तीन सय २६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार ७३० कित्ता सेयर दुई लाख ३८ हजार ७८ पटक खरिद–बिक्री हुँदा रु. २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ बराबरको कारोबार भएको छ।
होटेल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा धेरै ६.६९ प्रतिशतले बढेको छ। त्यस्तै, जलविद्युत् समूह ३.०९, लगानी ३.५२, जीवन बिमा ३.२३, निर्जीवन बिमा १.२५, व्यापार ५.७० र अन्य समूह ५.७३ प्रतिशतले बढेको छ। अरू समूहको उपसूचक भने रातो देखिएको छ।
आठवटा कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। रुरु जलविद्युत् परियोजना लिमिटेड, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेड, भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो। नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. एक अर्ब २६ करोड चार लाख ८८ हजार सात सय ७२ बराबरको १५ लाख ४९ हजार ९८ कित्ता सेयर किनबेच भएको छ। रासस