पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलनको आयोजना अगस्ट ६ देखि ८ सम्म भारतको नयाँदिल्लीमा गर्न सम्पूर्ण तयारी सकिएको भारतले जनाएको छ।
सम्मेलनका लागि विदेश मन्त्रालयले भारतीय उद्योग परिसंघ (सिआइआई)सँगको सहकार्यमा तीनदिने कार्यक्रमको आयोजना गर्नेछ।
विदेश मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार विदेशमन्त्री एस जयशंकरले सम्मेलनको उद्घाटन गर्नेछन् भने केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयललगायतका नेताहरूले सम्मेलनलाई सम्बोधन गर्नेछन्।
सम्मेलनमा व्यापार, वाणिज्य, उद्योगका साथै ऊर्जा क्षेत्रका समस्याबारे बिमस्टेक सदस्य राष्ट्रका मन्त्री, उच्चपदस्थ सरकारी अधिकारी, उद्यमीलगायतको सहभागितामा छलफल हुनेछ।
मन्त्रालयले सम्मेलनको पहिलो उद्देश्य बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बे अफ बंगाल इनिसिएटिभ (बिमस्टेक)का सदस्य राष्ट्रबीच व्यापार र लगानीको माध्यमबाट क्षेत्रीय सहयोगलाई वृद्धि गर्ने रहेको जनाएको छ।
कार्यक्रम आर्थिक सहकार्य सहज बनाई व्यापार, ऊर्जा सुरक्षा, दिगो विकासललगायतमा केन्द्रित रहनेछ।