वरिष्ठ पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको नयाँ चलचित्र ‘सतीदेवी’को ट्रेलर सार्वजनिक भएको छ।
राजधानीमा विशेष कार्यक्रम आयोजना गरी चलचित्र निर्माण पक्षले तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो।
छोरीबेटीको कथाव्यथामा निर्माण गरिएको सिनेमाको ट्रेलरमा महिला सशक्तीकरण, पारिवारिक उल्झन, सामाजिक सोच तथा छोरीहरूले आफ्नो आमाबाबुको खुसीका लागि गर्ने तपस्याको विषय निकै मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा निर्देशक लक्ष्मण सुवेदीले ‘सतीदेवी’ अहिले बजारमा आएका अन्य चलचित्रभन्दा भिन्न र उत्कृष्ट बनेको बताए। सिनेमाले महिलाको विषयमा समाजमा व्याप्त गलत सोच र भ्रम चिर्न प्रभावकारी सन्देश दिने उनको विश्वास छ । निर्देशक सुवेदीले आफूले समाजमा देखेका र भोगेका विविध घटना–प्रसंगहरूलाई सिनेमामा उतारेको सुनाए।
सार्वजनिक ट्रेलरमा चार छोरी भएको एक परिवारको कथा देखाइएको छ। छोरा पाउने चाहनामा छोरीछोरी जन्मिएका अभिभावकले समाज, छरछिमेक, आफन्तीबाटै पाउने अपहेलना, अवगाल तथा होच्याइ र हेलाको प्रसंग निकै हृदयस्पर्शी रूपमा देखाइएको छ।
कार्यक्रममा फिल्मकी शीर्ष अभिनेत्री मलिका महतले फिल्ममा आफ्नो सशक्त भूमिका रहेको बताउँदै आफू यसअघि यति यथार्थ र मौलिक विषयमा प्रस्तुत हुन नपाएको जिकिर गरिन्। उनले ‘सतीदेवी’ एक चलचित्र मात्र नभई समाजमा छोरी, महिलामाथि हुँदै आएको अर्घेल्याइँविरुद्धको आवाज भएको बताइन्।
सिनेमामा मलिकासँगै बालकलाकारद्वय हर्षिका वली र मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सिर्जना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनीषा सापकोटा, जयन्त रेग्मी, विमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, ईश्वरी सिंह, पवन केसी र जगदीश अधिकारीको अभिनय छ।
निर्देशक सुवेदीकै कथालेखन, गीत रचना र निर्माणसमेत रहेको चलचित्र ‘सतीदेवी’ गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुतिमा श्रीदेवी सुवेदीले बनाएकी हुन्।
आगामी ७ भदौदेखि सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्रले सौराहा दक्षिण एसियाली फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेस्रो नेपाल ग्रामीण फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रिप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितिसकेको छ।
चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका हुन् भने तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र देव महर्जनको एक्सन छ। चलचित्रको वितरण काठमाडौंमा रिच इन्टरटेनमेन्ट र काठमाडौंबाहिर एफडी कम्पनीले गर्नेछ।

