जिल्ला प्रशासन कार्यालयबाट ४० जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । नेपाल नागरिकता ऐन, २०६३ जारी भएपछि प्रशासन कार्यालयबाट ४० जनाले नेपाली नागरिकता त्याग गरेको बताएको छ। यो अवधिमा ४० जनाले नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताएका छन् ।
प्रशासन कार्यालयका अनुसार नागरिकता त्याग गर्नेमध्ये ३३ जना भारत, अमेरिका, बेलायत र जर्मन दुई–दुईजना र पाेर्चुगल एकजना छन् । गत आर्थिक वर्ष भने सातजनाले नागरिकता त्याग गरेको बताएको छ । ०७० कात्तिकदेखि प्रशासन कार्यालयमा नागरिकता त्यागको अभिलेख राखिएको छ ।
भारतमा व्यवसाय गर्न, विवाह गर्न, जमिन किन्न, नोकरी गर्न, घरजग्गाा किन्न, स्थायी बसोवास गर्न र निर्वाचनमा उम्मेदवार हुन, भारतमा मावलीबाट सम्पत्ति प्राप्त गर्न भन्दै नागरिकता त्यागेका छन् । भारतमा नागरिक भएर बस्न चाहेको र भारतमा विवाह भएको छोरीसँग बस्न चाहेको भन्दैसमेत नागरिकता त्याग गरेका छन् ।
भारतमा माइती भएको र माइतीमै जग्गाजमिन प्राप्त भएकाे, भारतमा विवाह भएको र भारतमै बस्न चाहने भएकाले समेत नागरिकता त्याग गरेका छन् । यस्तै अमेरिकन नागरिकता प्राप्त गर्न भन्दै दुईजनाले नागरिकता त्याग गरेको प्रशासन कार्यालयले जनाएको छ । नेपाल नागरिकता ऐन, २०६३ अनुसार नेपाली नागरिकता त्याग गर्नेहरूले नामथर, नागरिकता प्रमाणपत्र नम्बर, जारी मिति र स्थान, हालको बसोवासको ठाउँ, नेपालमा बसोवासको ठाउँ, नेपाली नागरिकता त्याग गर्नुपर्ने कारण र परिवारका सदस्यमध्ये नेपाली नागरिक भई बस्नेहरूको नाम उल्लेख गरी निवेदन दिनुपर्ने प्रावधान छ ।
कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतसमक्ष आफूले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति संलग्न गरी अनुसूची– ९ बमोजिमको ढाँचामा सूचना दिनुपर्ने व्यवस्था रहेको छ ।
उपनियम (१) बमोजिम विदेशमा सूचना दिएको भए सात दिनभित्र पूरा विवरण खोली नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतले परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयमा लेखी पठाउनुपर्ने व्यवस्था छ । उपनियम (२) बमोजिम प्राप्त भएको सूचना मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष पठाउनुपर्ने हुन्छ । उपनियम (१) बमोजिम सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले त्यस्तो सूचना अनुसूची १० बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गर्नुपर्नेछ र त्यसरी दर्ता भएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता समाप्त हुनेछ ।
नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा नेपाल नागरिकता ऐन, २०६३ दफा ११ बमोजिम विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने हुन्छ।
उपनियम (१) बमोजिमको सूचनाको निवेदन प्राप्त भएपछि अनुसूची १२ बमोजिमको ढाँचामा सूचना दर्ताको जानकारी दिई नियम ८ बमोजिमको अधिकारीले साबिककै नागरिकताको विवरणसहितको नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न सकिने ऐनमा व्यवस्था रहेको छ ।