ललित स्मृति एन्फा यू–१८ युथ लिगमा सय गोल पूरा भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा चलिरहेको लिगको ३७औँ खेलसँगै सय गोल पूरा भएको हो । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध न्युरोड टिम (एनआरटी)का सन्तोष गोङ्वाले सय गोल गरेका हुन् । लिगमा यो उनको चौथो गोल हो । सन्तोषले खेलको २२औँ मिनेटमा गोल गरेका थिए । उनले इशान थापाको क्रसलाई हेडिङ गोल गरेका हुन् ।
एनआरटीका अमनबहादुर तामाङ लिगमा व्यक्तिगत पहिलो गोल गर्न सफल भए । लिगको ३८ खेल सम्पन्न हुँदा नेपाल पुलिस क्लबका विक्रम गौतमले सर्वाधिक ६ गोल गरेका छन् । उनलाई पुलिसकै सुवास बम र जावलाखेलका विकाश दर्लामीले पाँच गोलले पछ्याइरहेका छन् । प्रतियोगितामा चार खेलाडीले तीन, आठ खेलाडीले दुई र ३६ खेलाडीले एक गोल गरेका छन् । एक गोल आत्मघाती भएको छ ।
तीन ह्याट्रिक
लिगमा अहिलेसम्म तीन ह्याट्रिक भएका छन् । पुलिसका विक्रम गौतमले थ्री स्टार र जावलाखेलका विवश दर्लामीले चर्च ब्वाइजविरुद्ध ह्याट्रिक पूरा गरेका थिए । एनआरटीका कप्तान विज्ञान खड्काले तेस्रो ह्याट्रिक गरेका हुन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगका १४ मध्ये १२ टोलीले प्रतियोगितामा भाग लिइरहेका छन् । फ्रेन्ड्स र हिमालयन शेर्पाले भाग लिएका छैनन् । लिग पहिलोपटक डबल राउन्ड रोबिनअनुसार भइरहेको छ ।
एनआरटी र मच्छिन्द्रको जित
एनआरटी र मच्छिन्द्रले आइतबार जित निकालेका छन् । कप्तान विज्ञान खड्काको ह्याट्रिकमा एनआरटीले आर्मीविरुद्ध ४–२ को जित निकाल्यो । पाँच जितसँगै सात खेलबाट १६ अंक जोडेको एनआरटी दोस्रो स्थानमा उक्लिएको छ । पाँचौँ हार सामना गरेको आर्मी समान खेलबाट ४ अंकका साथ १०औँ स्थानमा छ ।
एनआरटीलाई जित दिलाउन सन्तोष गोङ्बाले एक गोल गरे । आर्मीका लागि भुवन कामी र अनुभव पुरीले गोल फर्काए । अर्काे खेलमा मच्छिन्द्रले मनाङविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्यो । चौथो जितसँगै सात खेलमा १४ अंक जोडेको मच्छिन्द्र चौथो स्थानमा छ । मनाङ १५ अंकका साथ तेस्रो स्थानमा छ । मच्छिन्द्रलाई जित दिलाउन रोनिक रानामगर, भूपेन्द्र धरला र प्रसुन तामाङले गोल गरे । मनाङका लागि दर्शन अधिकारी र अमृत बस्यालले गोल फर्काएका हुन् ।