मकवानपुरको सिस्नेरीमा शनिबार बिहान टाटा सुमो दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ। मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा परी घाइते भएका १० जनाकै पहिचान खुलेको हो। घाइते हुनेमा ८ जना भारतीय र दुईजना नेपाली रहेका छन्।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहका अनुसार सुमोका चालक पर्साको वीरगन्ज महानगरपालिका घर भई ललितपुर बल्खु बस्ने ३३ वर्षका जाकिर मिया तेली, बाराको आदर्श कोतुवाला गाउँपालिका वडा नम्बर ७ का औसान अन्सारी रहेका छन्। उनीहरूको टाउको, छाती शरीरका विभिन्न भागमा चोट लागेको छ।
यस्तै, भारत घर भई हाल काठमाडाैं जिल्ला तारकेश्वर नगरपालिका नेपालटार बस्ने ४० वर्षका सन्तोष रन्जन, ६१ वर्षका सतेन साह, काठमाडौं १४ कालिमाटीमा गार्मेन्टमा काम गर्ने ५० वर्षका सोभरती अन्सारी, ३० वर्षका सुनील राम, ३५ वर्षका प्रदीप राम, ४४ वर्षका मोहमद मुस्लिम र २४ वर्षका अनिल राम रहेका छन्। घाइते अधिकांशको टाउको, छाती र शरीरको विभिन्न भागमा चोट लागेको प्रहरी निरीक्षक साहले जानकारी दिए।
यसअघि शनिबार मकवानपुरको सिस्नेरीमा काठमाडौंबाट वीरगन्जका लागि छुटेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। प्रहरी निरीक्षक साहका अनुसार इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी बजारनजिकै सडक छेउमा रहेको नालामा सुमो दुर्घटना भएको हो। घाइते सबैलाई उपचारका लागि काठमाडौं लगिएको उनले बताए।