विश्वका अन्य देशहरूको तुलनामा तापक्रम तीव्र गतिमा बढिरहेको युरोपमा गर्मीका कारण बर्सेनि एक लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को युरोपेली शाखाले जनाएको छ।
डब्लुएचओले सन् २००० देखि २०१९ को बीचमा हरेक वर्ष गर्मीका कारण भएका चार लाख ८९ हजार मृत्युमध्ये युरोपेली क्षेत्रमा ३६ प्रतिशत अर्थात् औसतमा एक लाख ७६ हजार ४० जनाको मृत्यु हुने गरेको जनाएको छ।
स्वास्थ्य निकायका अनुसार यस क्षेत्रको तापक्रम विश्वको औसत दरभन्दा झन्डै दोब्बरले बढिरहेको छ। डब्लुएचओको युरोपेली क्षेत्रमा ५३ देशहरू छन्, जसमा मध्यएसियाका केही देशहरू पनि समावेश छन्।
डब्लुएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुजले भने, ‘मानिसले अन्तिम मूल्य चुकाइरहेका छन्।’ डब्लुएचओका अनुसार विगत दुई दशकमा यस क्षेत्रमा गर्मीका कारण हुने मृत्युदरमा ३० प्रतिशतले वृद्धि भएको छ।
क्लुजले भने, ‘तापक्रमको चरम सीमाले मुटु, श्वासप्रश्वास, सेरेब्रो–भास्कुलर डिजिज, मानसिक स्वास्थ्य र मधुमेहसँग सम्बन्धित रोगलगायत दीर्घकालीन अवस्थालाई बढाउँछ।’ अत्यधिक गर्मी विशेष गरी वृद्धवृद्धाका लागि समस्या र गर्भवती महिलाका लागि ‘अतिरिक्त बोझ’ हुन सक्ने उनको भनाइ छ।
डब्लुएचओका अनुसार मानव शरीरले आफ्नो तापक्रम कायम राख्न नसकेपछि उत्पन्न हुने ‘गर्मीको तनाव’ यस क्षेत्रमा जलवायुसम्बन्धी मृत्युको प्रमुख कारण हो। विश्वव्यापी तापक्रम वृद्धिका कारण आगामी वर्षहरूमा गर्मीका कारण मृत्यु हुनेको संख्या बढ्ने डब्लुएचओले जनाएको छ।
क्लुजका अनुसार सन् २०२० यता यस क्षेत्रका लागि सबैभन्दा तातो तीन वर्ष भएका छन् भने सन् २००७ पछि १० वर्ष अत्यधिक तातो वर्षका रूपमा रेकर्ड भएका छन्।
गत जुलाई २५ मा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानव जाति ‘अत्यधिक गर्मीको महामारी’बाट पीडित भएको चेतावनी दिँदै जलवायु परिवर्तनका कारण उत्पन्न गर्मीको लहरको प्रभावलाई सीमित गर्न कदम चाल्न आह्वान गरेका थिए। रासस