हमासद्वारा समूहका नेताको अन्त्येष्टिका लागि ‘क्रोध दिवस’को आह्वान

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

प्यालेस्टिनी लडाकु समूह हमासले आफ्ना मारिएका नेता इस्माइल हानियेको अन्त्येष्टिमा शुक्रबार कतारमा ‘उग्र क्रोध दिवस’को आह्वान गरेको छ।

हमासले बिहीबार विज्ञप्तिमा तेहरानमा हानियेको हत्यापछि इजरायलमाथि आक्रमणको आरोप लगाउँदै सार्वजनिक आक्रोश फैलाउन प्रोत्साहन गर्नुका साथै गाजापट्टीमा जारी युद्धको पनि विरोध गरेको छ। 

‘शुक्रबार नमाजपछि प्रत्येक मस्जिदबाट क्रोध मार्च सुरु गरौँ,’ हमासले भनेको छ। हमासको राजनीतिक नेतृत्वका अन्य सदस्यहरूसँगै कतारमा निर्वासनमा रहनुभएका हानियेको इरानी राजधानी तेहरानमा बिहीबार आयोजित सार्वजनिक अन्तिम संस्कारपछि शुक्रबार खाडी राज्यमा अन्त्येष्टि गरिने भएको छ।

इरानको रिभोल्युसनरी गार्डले हानिये र एक अंगरक्षक तेहरानमा उनीहरूको आवासमा बुधबार बिहानै भएको आक्रमणमा मारिएको बताएको छ। उक्त आक्रमणले व्यापक क्षेत्रीय द्वन्द्वको डर उत्पन्न गरेको छ। 

हमासले ‘कब्जा गरिएको पश्चिम किनारमा हाम्रा क्रान्तिकारी मानिसहरूको समुदाय’लाई गाजामा प्यालेस्टिनीहरूका लागि आफ्नो समर्थन देखाउन तथा ‘हाम्रो भूमि र राष्ट्रिय अधिकारहरूप्रति हाम्रो प्रतिबद्धता पुष्टि गर्न र (इजरायली) कब्जाको योजनाहरूको सामना गर्न’ आह्वान गरेको छ।

हमास नेताको अन्तिम संस्कारका क्रममा बिहीबार तेहरानमा शोक मनाउनेहरूको भिड जम्मा भयो र इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले प्रार्थनाको नेतृत्व गरे। हानियेको हत्यापछि अम्मानमा विरोध प्रदर्शन सुरु भएको छ। त्यहाँ हजारौँ जोर्डनवासी बुधबार इजरायली दूतावासबाहिर भेला भएका थिए। 

लेबनानमा प्यालेस्टिनी शरणार्थी शिविरहरू र ट्युनिसिया तथा मोरक्कोका राजधानीहरूमा पनि प्रदर्शनहरू भएका थिए। (रासस/एएफपी)

सुझावित समाचार