प्रमुख नगदे बालीमध्येको एक जुटको उत्पादन घट्दा आयात बढेको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट आव ०७६/७७ मा दुई अर्ब ३२ करोड ४७ लाख २१ हजार रुपैयाँको जुट आयात भएको तथ्यांक छ । त्यस्तै, ०७७/७८ मा तीन अर्ब एक करोड ५८ लाख १८ हजार, आव ०७८/७९ मा तीन अर्ब ९३ करोड ४४ लाख ८४ हजार, आव ०७९/८० मा तीन अर्ब ७४ करोड १४ लाख ११ हजार र ०८०/८१ मा तीन अर्ब ४६ करोड ९६ लाख १९ हजार रुपैयाँको जुट आयात भएको छ ।
तराईका जिल्लामा नगदे बालीका रूपमा लगाइने सनपाट (जुट)खेती झापामा बर्सेनि घट्दै छ । कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार झापामा एक दशकअघि एक हजार हेक्टर क्षेत्रफलमा जुटखेती हुन्थ्यो । तर, आर्थिक वर्ष ०८०/८१ मा पाँच सय ५० हेक्टर क्षेत्रफलमा मात्र जुटखेती भएको उनले बताए । उक्त क्षेत्रफलमा पाँच सय ९८ टन जुट उत्पादन भएको प्रमुख विष्टले जानकारी दिए । किसानले उचित मूल्य नपाउँदा जुटखेती घट्दै गएको प्रमुख विष्टको भनाइ छ । ‘कुनै वेला आदिवासी समुदाय बसोवास भएको क्षेत्रमा जताततै जुट नै जुट हुन्थ्यो । तर, अहिले फाट्टफुट्ट मात्र जुटखेती हुँदै आएको छ,’ उनले भने, ‘यसमा परिश्रम धेरै लाग्छ । तर, किसानले मूल्य राम्रो पाउँदैनन् । झन्झटिलो हुनु र मूल्य पनि कम पाउने भएका कारण जुटखेती घट्दै गएको छ ।’
झापाको गौरादह नगरपालिका, गौरीगन्ज, बाह्रदशी र कचनकवल र झापा गाउँपालिकामा जुटको खेती हुँदै आएको छ । जुटको बिउ फागुन–चैतमा छरिन्छ । यसलाई बीचमा गोडमेलको पनि आवश्यक पर्छ । यो साउनमा निकाल्ने वेला हुन्छ । त्यसपछि खाडीमा पानीमा डुबाएपछि निकालेर सुकाई जुट तयार गरिन्छ । यसरी तयार गरेको जुटलाई व्यापारीले किसानबाट संकलन गरेर जुटमिलसम्म पुर्याउँछन् । तर, मिहिनेतअनुसार जुटको मूल्य पाउन नसकेको किसानको गुनासो छ । ‘पहिला जताततै जुट हुन्थ्यो । अहिले जुट खासै देखिँदैन । मिहिनेतअनुसार मूल्य पाइँदैन । गत वर्ष पनि प्रतिमन तीन हजार मात्र थियो । यतिले त यस्तो महँगो जमानामा परिश्रम पनि उठ्दैन,’ गौरादह–६ का जितलाल राजवंशीले भने, ‘म प्रत्येक वर्ष खेती लगाउँछु । खेतीका लागि सरकारले केही सहयोग गर्दैन । सबै किसानको मन मरिसक्यो ।’
बंगलादेश र भारतको पश्चिमबंगाल क्षेत्रबाट आउने जुटको मूल्य सस्तो पर्ने भएका कारण नेपाली उत्पादनले मूल्य पाउन नसकेको ज्ञानकेन्द्र प्रमुख सागर विष्टले बताए ।
खेती गर्न भारतको भर पर्नुपरेको किसानको गुनासो
जुटखेतीका लागि किसानले बिउसमेत भारतीय बजारबाट ल्याउनुपर्ने बाध्यता रहेको गौरादह–६ का किसान चिरुवा गनगार्इंले बताए । ‘जुटखेतीमा सरकारले अनुदान दिन्छ रे ! तर, हामी किसानसम्म आइपुग्दैन । माथि–माथि मिलाएर खान्छन्,’ उनले भने ।
आजकल गाउँमा जुट पाउनै छाडेको किसानबाट संकलन गरेर जुट मिलसम्म पुर्याउने गौरीगन्जका जुट व्यापारी बाबुराज श्रेष्ठले बताए । जुट मिलले मूल्य नदिएका कारण पनि किसानले जुट लगाउन छाडेको उनी बताउँछन् । ‘पहिला झापामा जुटको खेती पर्याप्त हुन्थ्यो । अहिले किसानले जुट लगाउनै छाडे ।
किसानले प्रतिमन तीन हजार दुई सय रुपैयाँभन्दा बढी पाउने अवस्था छैन । जसले किसानलाई निराश बनाएको छ,’ उनले भने, ‘सनपाट (जुट)खेतीलाई अघि बढाउन सरकारले विशेष योजना ल्याउनुपर्छ । त्यसो गर्न सके जुट विदेशबाट आयात गर्नुपर्ने अवस्था आउँदैन ।’ झापामा जुट मिल छैन । झापामा उत्पादन भएका जुट व्यापारीले संकलन गरेर मोरङका जुटमिलसम्म पुर्याउँछन् । कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार गत वर्ष जुटखेती प्रवद्र्धन कार्यक्रम गर्दा पनि किसानले इच्छा नदेखाएको बताए ।