सुदूरपश्चिमका​​​​​​​ मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

शुक्रबार दिउँसो ४ बजे प्रदेश सभा बैठक आह्वान

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइदिन सभामुख भीमबहादुर भण्डारीलाई बुधबार पत्र पठाएका हुन् ।

मुख्यमन्त्रीको आग्रहमा सभामुखको निर्देशनअनुसार आगामी शुक्रबार दिउँसो ४ बजे प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिए पनि त्यसअघि नै राजीनामा दिने वा विश्वासको मतको सामना गर्ने भन्नेबारे छलफल भइरहेको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ ।

एमालेले २० असारमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए । सत्तासाझेदार दलले समर्थन फिर्ता लिए एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार १८ साउनभित्र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सदस्यको समर्थन चाहिन्छ । सरकारमा अहिले मुख्यमन्त्रीको पार्टी एकीकृत समाजवादीका चार, माओवादीका १० र नागरिक उन्मुक्तिबाट एकजनाको समर्थन छ । नयाँ सरकार गठनको गृहकार्य गरिरहेका दुई दल कांग्रेसका १८ र एमालेका ११ गरी २९ सांसद छन् ।

सुझावित समाचार