सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले पाउने भएपछि संस्थापन पक्षका संसदीय दलका नेता कमलबहादुर शाह, प्रकाशबहादुर देउवा र बहादुरसिंह थापा तथा इतर समूहका दिवानसिंह विष्ट सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग ‘लबिङ’ गर्न काठमाडौंमा
सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि कांग्रेसका चार आकांक्षी देखिएका छन् । कांग्रेस–एमालेबीचको सहमतिअनुसार सुदूरपश्चिममा कांग्रेसले मुख्यमन्त्री पाउने भएपछि चार नेता दौडधुपमा छन् । संस्थापन पक्षका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाह, पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र बहादुरसिंह थापा तथा इतर समूहका दिवानसिंह बिष्ट काठमाडौंमा पार्टी सभापतिसहितका नेताहरूसँग लबिङ गरिरहेका छन् ।
सभापति शेरबहादुर देउवाले आकांक्षी चारैजनासँग बिहीबार छुट्टाछुट्टै छलफल गरेका छन् । तर, कसैलाई वचन दिइनसकेको कांग्रेसनिकट स्रोतले जनायो । ‘मुख्यमन्त्रीको सन्दर्भमा नेतृत्वबाट अहिलेसम्म कुनै संकेत पाइएको छैन, आकांक्षीहरू आ–आफ्नो हिसाबले लागिराख्नुभएको छ,’ प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य मेघराज खड्काले भने, ‘आज पार्टी सभापतिलाई भेट्दा मुख्यमन्त्रीका विषयमा एक–दुई दिनमा भन्छु भन्नुभएको छ ।’
एकीकृत समाजवादीका नेतासमेत रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारको समयावधि शुक्रबारसम्म मात्र छ । उनले शुक्रबार विश्वासको मत लिने भनिए पनि अहिलेको राजनीतिक समीकरणमा उनको पक्षमा बहुमत छैन । संसदीय दलका नेता शाहले यसअघि करिब १४ महिना सरकार चलाइसकेकाले अब नयाँलाई अवसर दिनुपर्ने मत पनि कांग्रेसमा देखिन्छ । यसअघि छोटो अवधि मात्र सरकारको नेतृत्व गरेकाले पुनः अवसर दिनुपर्ने तर्क शाहको छ । संसदीय दलको नेता भएकाले स्वाभाविक रूपमा शाहको दाबी बलियो छ । शाहले मुख्यमन्त्रीका विषयमा पार्टीको केन्द्रीय नेतृत्वले निर्णय लिने बताए । ‘सांसदले चाहना राख्नु स्वाभाविक हो । तर, मुख्यमन्त्री कसलाई बनाउने भन्ने निर्णय पार्टी सभापतिले गर्नुहुन्छ,’ शाहले भने, ‘पार्टी सभापतिको निर्णय र निर्देशन कार्यान्वयन गर्छौँ ।’
मुख्यमन्त्रीका अर्का दाबेदार देउवा पार्टी सभापति शेरबहादुर देउवाका सहोदर भतिजा हुन् । अघिल्लो सरकारमा भौतिक पूर्वाधारमन्त्री रहँदा राम्रो काम गरेकाले उनलाई मुख्यमन्त्री बनाउनुपर्ने लबिङ केही नेताले गरिरहेका छन् । दलको नेता फेर्ने विषयमा संसदीय दल र पार्टीमा औपचारिक छलफल हुनुपर्ने माग पनि यो पक्षको छ ।
देउवाले शाहलाई संसदीय दलमा सघाएका थिए । एमाले नेतृत्वको सरकार एक महिनामै ढलेपछि शाह मुख्यमन्त्री बनेका थिए । कांग्रेसनिकट स्रोतका अनुसार आफू मुख्यमन्त्री नबन्ने परिस्थितिमा भावी राजनीतिलाई ध्यानमा राखेर शाहले देउवालाई मुख्यमन्त्रीमा समर्थन गर्न सक्छन् । ‘मैले म नै मुख्यमन्त्री बन्नुपर्छ भनेको छैन, कसलाई अगाडि सार्ने निर्णय पार्टीले गर्ला,’ देउवाले भने ।
थापाले संसदीय दलमा सबैभन्दा सिनियर आफू रहेको र संसदीय दलको निर्वाचनमा पार्टी नेतृत्वको निर्देशनअनुसार पछि हटेकाले अहिले आफूले अवसर पाउनुपर्ने तर्क गरेका छन् । पार्टी सभापतिलाई भेटेर आफूलाई मुख्यमन्त्री बनाउन आग्रह गरेको उनले बताए । उनी संसदीय दलको नेताको दाबेदार थिए । पछि शाह सर्वसम्मत रूपमा दलको नेता चयन भएका थिए । मुख्यमन्त्रीका आकांक्षीले पार्टी नेतृत्व र नेताहरूलाई भेटेर आफ्नो पक्षमा लबिङ गरिरहेको उनले बताए ।
‘पार्टी नेतृत्वकै निर्देशनमा म संसदीय दलको नेताको दाबीबाट पछि हटेको थिएँ, पार्टी सभापतिले अहिले पछि हट भन्नुभयो, त्यतिवेला म ब्याक भएँ,’ उनले भने, ‘संसदीय दलमा पनि म सिनियर हुँ, अहिले मलाई अवसर दिनुपर्छ भनेर पार्टी सभापतिलाई भनेको छु ।’ सभापति देउवाले यसबारे जवाफ भने नदिएको उनले बताए । उनी नेता एनपी साउदनिकट हुन् ।
थापालाई मुख्यमन्त्री बनाउन साउदले पनि लबिङ गरिरहेका कांग्रेसका एक नेताले बताए । संस्थापन इतर खेमा दिवानसिंह विष्टले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनले पनि पार्टी सभापतिलाई भेटेर मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । तर, सभापतिले कुनै निर्णय नदिएको उनले बताए । प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने अघिल्लो दिन नागरिक उन्मुक्ति पार्टीले सरकार छाडेको छ । भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरीले बिहीबार मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् । नागरिक उन्मुक्तिका सातमध्ये अध्यक्ष रञ्जिता श्रेष्ठनिकट चौधरी र टीका थापाले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।
मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइदिन सभामुख भीमबहादुर भण्डारीलाई बुधबार पत्र पठाएका हुन् ।
मुख्यमन्त्रीको आग्रहमा सभामुखको निर्देशनअनुसार आगामी शुक्रबार दिउँसो ४ बजे प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिए पनि त्यसअघि नै राजीनामा दिने वा विश्वासको मतको सामना गर्ने भन्नेबारे छलफल भइरहेको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ ।
एमालेले २० असारमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए । सत्तासाझेदार दलले समर्थन फिर्ता लिए एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार १८ साउनभित्र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ ।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सदस्यको समर्थन चाहिन्छ । सरकारमा अहिले मुख्यमन्त्रीको पार्टी एकीकृत समाजवादीका चार, माओवादीका १० र नागरिक उन्मुक्तिबाट एकजनाको समर्थन छ । नयाँ सरकार गठनको गृहकार्य गरिरहेका दुई दल कांग्रेसका १८ र एमालेका ११ गरी २९ सांसद छन् ।