उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणााली, स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगायतका क्षेत्रमा छिट्टै नतिजा देखिने गरी मन्त्रालयले काम गरिरहेको बताएका छन्।
बिहीबार काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटमा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। मेयर्स फोरमले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै स्मार्ट सिटी, सडकबत्तीको महसुललगायतको विषयमा ध्यानाकर्षण गराएको थियो।
सो क्रममा उपप्रधानमन्त्री सिंहले उपत्यकालाई बस्न लायक बनाउन मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने भन्दै छिट्टै नतिजा देखिने गरी काम भइरहेको बताए।
भेटमा मेयर्स फोरमले वर्षौँदेखि स्मार्ट सिटीका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै रोक्का फुकुवा गर्न माग गरेको थियो। सो क्रममा उपप्रधानमन्त्री सिंहले सो समस्या छिट्टै समाधान हुने बताए।
‘स्मार्ट सिटीका लागि जग्गा रोक्का हुँदा जग्गाधनीले उपयोग गर्न पाएका छैनन् भन्ने जुन गुनासो छ, चाँडै नतिजा देखिने गरी मन्त्रालयले काम अघि बढाएको छ,’ उनले भने।
त्यस्तै, मेयर्स फोरमले सडकबत्तीको बिल विद्युत् प्राधिकरणले नागरपालिकाका नाममा पठाएको उल्लेख गर्दै सडक केन्द्र र प्रदेश सरकारकै दायित्वभित्र पर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए।
सो क्रममा उपप्रधानमन्त्री सिंहले सडकबत्तीको बिलको समस्या समाधानका लागि मन्त्रालयले पहल गर्ने आश्वासन दिए।