काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर रु. चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन्।
मेचीनगर नगरपालिका– ६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए।
विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो। तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो।
विद्यालयले विद्यार्थी बोक्ने बस किन्नका लागि बैंकमा रहेको रकम जाँचबुझ गर्दा मल्लिकले बैंकबाट अनधिकृत रूपमा रकम निकाल्ने गरेको खुलेको हो। घटनाबारे थाहा पाएपछि यही साउन १३ गते इलाका प्रहरी कार्यालय काँकडभिट्टामा उजुरी दिएको सहायक प्रधानाध्यापक मदन अधिकारीले जानकारी दिए।
प्रहरीले सोही दिन मल्लिकलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। हाल अभियोग लागेका मल्लिकलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए। बैंकबाट चेकबुक निकालेर ल्याउँदा चेकका केही पाना लुकाएर राख्ने गरेका मल्लिकले ०८० साउन ७ गते यता एक वर्षमा २० पटक किर्ते हस्ताक्षर गरेर रकम निकालेको खुलेको छ। मल्लिकले प्रधानाध्यापक र लेखापाल दुवैको किर्ते हस्ताक्षर गरेको बताइएको छ।
मल्लिकले विद्यालयका शिक्षक, विद्यालयसँग कारोबार भएका व्यवसायी र आफ्नै नाममा अनधिकृत रूपमा चेक काट्ने गरेका थिए।