बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउन तयारी थालिएको छ। इन्डोनेसियाको बालीमा हुने आम्दा इन्टरनेसनलको अन्तर्राष्ट्रिय सभामा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी प्रस्ताव लगिने भएको हो।
जसका लागि बुटवलमा रहेको स्थानीय व्यवस्थापन समिति र आम्दा नेपालले निर्णय गरिसकेका छन्। २३ राष्ट्रमा सञ्जाल रहेको आम्दा इन्टरनेसनलको सभाले अनुमोदन गरेपछि बुटवलमा आम्दा इन्टरनेसनल मेडिकल कलेज बन्ने प्रक्रिया सुरु हुनेछ।
आम्दा बुटवलको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षता र आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सिगेरू सुगानामीको उपस्थितिमा बुधबार बसेको बैठकले बुटवलमा आम्दा इन्टरनेसनल मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।जसका लागि स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ।
जसको सदस्यमा आम्दा इन्टरनेसनलका प्रतिनिधि अर्चना जोशी, आम्दा नेपालका अध्यक्ष डाक्टर सुनु दुलाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल र आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद पराजुली सदस्यसचिव रहेका छन्।
आम्दा इन्टरनेसनलको सहकार्यमा स्तरोन्नति भइरहेको अस्पताललाई थप व्यवस्थित गर्दै जनशक्ति उत्पादन र उपचारलाई सँगै अगाडि बढाउन मेडिकल कलेजका रूपमा अगाडि बढाउन लागिएको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बताए।
उनले आम्दा अस्पताललाई यस क्षेत्रकै सुविधासम्पन्न अस्पताल र स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गर्ने कलेजका रूपमा स्थापित गर्ने योजनाअनुसार काम भइरहेको बताए। उनले सोहीअनुसार अस्पताललाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्नका लागि सम्भाव्यता अध्ययन गर्ने र बाँकी प्रक्रियाहरू पूरा गर्दै जाने गरी तयारी भएको बताए। उनले कार्यदलले अध्ययन गरी सबै विषय अन्तर्राष्ट्रिय सभामा पेस गर्ने बताए। पाण्डेयले बुटवलका लागि सुनौलो अवसर भएको बताउँदै यस कार्यलाई सम्पन्न गर्न सबै बुटवलवासीलाई सहयोगको अपिलसमेत गरेका छन्।
आम्दा इन्टरनेसनलका अध्यक्ष डाक्टर सुगेरू सुगानामीले बुटवलमा मेडिकल कलेज स्थापना गर्न पाउनु आम्दाका लागि गौरवको कुरा हुने बताए। उनले चारवटै साझेदार संस्थाहरूको सहकार्यमा आम्दाले बुटवलमा स्वास्थ्यजस्तो पवित्र क्षेत्रमा काम गर्न सकिरहेको स्मरण गर्दै सबैको साथ जरुरी रहेको बताए।यस्तै, सदस्य संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले हालसम्म आम्दा अस्पतालको विकासका लागि सहयोग गर्दै आएको बताउँदै आम्दा इन्टरनेसनल मेडिकल कलेज निर्माणका लागि संघको तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस्तै, बुधबार नै आम्दा इन्टरनेसनलका अध्यक्ष डाक्टर सुगेरू सुगानामीले आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको सेवाप्रवाहबारे अनुगमन गरेका छन्। आम्दा नेपालका अध्यक्ष डाक्टर सुनु दुलाल, आम्दा जापानका कार्यक्रम निर्देशक अर्चना जोशी र आम्दा नेपालका परियोजना निर्देशक सुरेश रेग्मीसहितको टोलीले अस्पतालको सेवाबारे अनुगमन गरेको हो। अनुगमनका क्रममा डाक्टर सुगेरूले अस्पतालले सेवा प्रदान गर्दै आएको प्रत्येक वार्डका इन्चार्ज, डाक्टर, नर्स र सेवाग्राहीसँग समेत प्रतिक्रिया लिएका थिए।
अनुगमनका क्रममा आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेय र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद पराजुलीले अस्पतालको सेवा र अवस्थाबारे जानकारी गराएका थिए। सो क्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल र अस्पतालका कर्मचारीसमेतको उपस्थिति रहेको थियो ।
डा. सुगानामीले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेल्थ असिस्टेन्ट, नर्सिङ र फार्मेसी डिप्लोमा अध्ययनरत विद्यार्थीसँग कुराकानी गर्दै शैक्षिक एवं भौतिक अवस्थाबारे कुराकानी गरी अध्ययनलाई प्रभावकारी रूपमा लिँदै राम्रो स्वास्थ्यकर्मी बन्न आग्रह गरे।
यस्तै, आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बुटवल उपमहानगरपालिकाका तत्कालीन नगरप्रमुख स्वर्गीय सूर्यप्रसाद प्रधानको सम्झनामा आम्दा अस्पतालपरिसरको प्रशासकीय भवनलाई सूर्यप्रसाद प्रधान स्मृति प्रशासकीय भवन नामकरण गर्ने निर्णय गरिएको आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद पराजुलीले जानकारी दिए।