मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले तनहुँमा चार सय केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङसँग ठेक्का सम्झौता गरेको छ ।
बुधबार ऊर्जामन्त्री दीपक खड्का, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन, टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङका प्रबन्ध निर्देशक पदमप्रकाश गुप्ता, विद्युत् प्राधिकरण र एमसिसीका उच्चाधिकारीको उपस्थितिमा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिकका व्यापार निर्देशक राजीव अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । एमसिएले तीन करोड ८८ लाख अमेरिक डलर (करिब पाँच अर्ब २० करोड रुपैयाँ) मा निर्माणको ठेक्का सम्झौता सम्पन्न भएको जनाएको छ ।
योसँगै एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत विभिन्न स्थानमा निर्माण गर्न लागिएका तीनवटै चार सय केभीका सबस्टेसन निर्माणसम्बन्धी ठेक्का सम्झौता सम्पन्न भएको छ । यसअघि नुवाकोटको बेलगढी नगरपालिका– ७ रातमाटे सबस्टेसन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा बन्ने नयाँ बुटवल सबस्टेसनको ठेक्का सम्झौता भइसकेको छ । बुधबार सम्झौता भएको नयाँ दमौली सबस्टेसन जेठ २०८१ मा निर्माण सम्झौता गरिएको रातमाटे सबस्टेसनजस्तै एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने बताइएको छ । रातमाटे सबस्टेसन निर्माणका लागि पनि टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङसँग ठेक्का सम्झौता भएको एमसिए नेपालले जनाएको छ । नयाँ दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुको काम गर्नेछ ।
सम्झौता कार्यक्रममा ऊर्जामन्त्री खड्काले तीनवटै सबस्टेसनले नेपालको विद्युत् वितरण प्रणालीमा महत्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै अमेरिकी राजदूत थम्प्सनले भने– ‘समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालका घर–घरमा ऊर्जा पुर्याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसिसी नेपाल कम्प्याक्ट हाम्रो साझा सफलताको कथाको महत्वपूर्ण अंश बन्दै छ ।’