बागमती प्रदेश सभाले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। बुधबार दिउँसो बसेको बैठकबाट उक्त विधेयक सर्वसम्मत पारित भएको हो।
प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले पेस गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रदेश सभामा पेस गरेका थिए। सभामुख पाठकले पेस गरेको उक्त विधेयकलाई सांसदहरूले सर्वसम्मत स्वीकृत गरेका हुन्।
त्यसअघि शिक्षा, स्वास्थ्य तथा कृषि समितिले उक्त विधेयकमाथि छलफल गरी तयार पारेको निर्णयसहितको प्रतिवेदन छलफलका लागि प्रदेश सभामा पेस भएको थियो। तर, मन्त्री खड्गीले पेस गरेको उक्त विधेयकको निर्णयसहितको प्रतिवेदनमाथि उपस्थित कुनै पनि सांसदहरूले छलफलमा भाग लिएनन्।
सभामुख पाठकले तीन मिनेटको समय निर्धारण गरी छलफलमा सहभागी हुन रुलिङ गरे पनि प्रदेश सभाका कुनै सांसदले छलफलमा भाग नलिएका हुन्। सांसदहरूले छलफलमा भाग नलिएपछि सभामुख पाठकले विधेयक पारित गर्ने प्रक्रियालाई अगाडि बढाएका थिए।
समितिका सदस्यहरू हेरफेर
यस्तै, बुधबारको बैठकले प्रदेश सभामा रहेका विभिन्न समितिका सदस्यहरू हेरफेर गरिएको प्रस्तावसमेत अनुमोदन गरेको छ। नयाँ सरकार गठन भएसँगै केही समितिका सदस्यहरू मन्त्री बनेपछि उनीहरूको स्थानमा नयाँ सदस्य थपिएको संसद् सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार प्रदेश मामिला समिति सदस्यमा निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल र निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ थपिएका छन्।
यसैगरी, सार्वजनिक लेखा समितिमा निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, निवर्तमान वन तथा वातावरणमन्त्री केशव पोखरेल तथा स्वास्थ्य, शिक्षा तथा कृषि समितिमा निवर्तमान सामाजिक विकासमन्त्री कुमारी मोक्तान थपिएका छन्।
प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी गराएका छन्।