दुई वर्ष मेरै नेतृत्वमा सरकार, ढुक्कले काम गर्नुस्

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन 

प्रधानमन्त्री केपी ओलीले स्थायित्वको कार्यभारसहित दुई ठूला दल एमाले र कांग्रेसको नेतृत्वमा सरकार बनेकाले ढुक्कसँग काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले मंगलबार मन्त्रीहरूको उपस्थितिमा सचिव र आयोगका पदाधिकारीहरूलाई निर्देशन दिएका हुन् । आइतबार मन्त्रालयहरू र राष्ट्रिय योजना आयोगको ब्रिफिङ लिएका उनले सोमबार एकैपटक २१ सचिवहरूको सरुवा गरेका थिए । 

प्रधानमन्त्रीले मन्त्री र सचिवहरूलाई सरकारको कार्यसञ्चालन र सम्पादनसँग जोडेर आगामी कार्ययोजना सुनाउँदै २६ बुँदामा निर्देशन दिएका छन् । उनले आफूले नेतृत्व गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने र पूर्ण स्थायित्वको प्रत्याभूतिसहित अहिलेकै समीकरण कायम रहने प्रस्ट्याए । आलोपालो सहमतिअनुसार दुई वर्ष पुग्न एक साताअघि नै राजीनामा दिने उनको भनाइ छ । ‘ढुक्कसँग काम गर्नुस् । यो सरकार स्थायित्वको कार्यभार लिएर आएको छ । सरकार ढल्छ कि भनेर सोच्न पर्दैन । सरकार सुशासन र विकासका लागि नै बनेको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो नेतृत्वको सरकार दुई वर्ष चल्ने हो । दुई वर्ष पुग्नुभन्दा एक साताअघि नै राजीनामा दिन्छु ।’ उनले अर्को चुनावसम्म यही समीकरणको सरकार कायम रहने बताए ।

ओलीले २० प्रतिशतभन्दा बढी जनता अझै गरिबीको रेखामुनि रहेको मुलुकका कर्मचारीले कार्यालय समयमा काम नगरी ५ बजेपछि बैठक राखेर भत्ता लिने गरेको भन्दै यस्तो काम बन्द गर्न निर्देशन दिए । ‘राज्यका मन्त्रालय र निकायमा तलब दिइएकाले बैठक आदिको भत्ता लिने गर्नु उचित हुँदैन । मुलुकमा २० प्रतिशतभन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनि छन्, आर्थिक अवस्था राम्रो छैन । हामीले देश र जनताका लागि प्रतिबद्ध भएर सेवा दिनुछ । दिनभरि काम नगर्ने र पाँच बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अबका दिनमा यस्तो काम नगर्नू, नगराउनू,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनको सचिवालयको प्रेस नोटमा भनिएको छ । 

प्रधानमन्त्रीले नयाँ कामभन्दा पनि थालिएका काम सम्पन्न गर्ने गरी लाग्न र काम सम्पन्न गर्नेतर्फ मुख्य ध्यान दिन पनि सचिवहरूलाई निर्देशन दिएका छन् । इन्धन आयात गर्दा लाग्ने अर्बौँ खर्च बचाउने योजना बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै ओलीले जलविद्युत्को विकास र उपयोग गरिनुपर्ने बताएका छन् । नागरिकले तत्काल सेवा पाउने गरी काम सुरु गर्न उनको निर्देशन छ । ‘कुनै पनि कुरामा ढिलासुस्ती नहोस् । समन्वय बढाउनुस् । तत्काल रेस्पोन्स गरिनुपर्छ । सेवा लिने नागरिकले कति टाढादेखि बाटो खर्च गरेर सरकारी कार्यालयमा आएको हुन्छ, उसको हुने काम विनाझन्झट गरिनुपर्छ,’ प्रधानमन्त्रीले निर्देशन दिँदै भने । सरकारी निकायअन्तर्गत अनावश्यक समिति र संरचना बनाउने काम बन्द गर्नुपर्नेमा जोड दिँदै ओलीले कामको परिणाम देखिने गरी कार्यान्वयन गर्न तथा देश र जनताका लागि समर्पित भएर काम गनुपर्ने बताए । त्यस्तै, कुनै पनि कामको जिम्मा कानुनबमोजिम आफैँले लिएर कार्यसम्पादन गर्न पनि निर्देशन दिए ।

यस्ता छन् प्रधानमन्त्रीका निर्देशन 

  • सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक पनि लाइन लाग्नुपर्ने स्थिति अन्त्य गर्नू, जनतासँग नरम व्यवहार गरेर व्यावहारिक र प्रभावकारी सेवा दिनू । 

  • ढुक्कसँग काम गर्नू, यो सरकार स्थायित्वको कार्यभार लिएर आएको छ । 

  • दिनभर काम नगर्ने र ५ बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब नगर्नू ।

  • नयाँ कामभन्दा पनि हाल थालिएका काम सम्पन्न गर्नतर्फ लाग्नू । 

  • इन्धन आयातमा खर्चिने अर्बौँ रकम बचाउन जलविद्युत्को विकास र उपयोगमा ध्यान दिनू । 

  • इजरायल र मलेसियाले समुद्रको पानी प्रशोधन गरेर पिउने बनाउँदै छ, हामीले सगरमाथाको पानीलाई किन ब्रान्डिङ नगर्ने ? यसमा ध्यान दिनू । 

  • सेवा लिने नागरिकले कति टाढादेखि बाटो खर्च गरेर सरकारी कार्यालयमा आएको हुन्छ, उसको हुने काम विनाझन्झट गर्नू । 

  • अनावश्यक समिति र संरचना नबनाऊँ, परिणाम देखिने गरी काम गर्नू । 

  • देश र जनताका लागि समर्पित भएर काम गर्नू, जिम्मेवारी अर्कोलाई नपन्छाउनू । 

  • आदेशका भरमा भन्दा कानुनबमोजिम आफैँले जिम्मा लिएर काम गर्नू ।

  • दिगो विकासका लक्ष्य पूरा गराउनुपर्ने दायित्वमा छौँ, गरिबी अन्त्य हाम्रो मुख्य निसाना हुनुपर्छ । 

  • आफ्नै सम्पत्ति बिक्री गर्दा पनि स्रोत देखाउनुपर्ने स्थिति छ, यसलाई व्यवस्थित गर्नू । 

  • सेवाग्राहीले निवेदन दिनेबित्तिकै काम थालेर छिटो निर्णय दिनू, फाइल रोकेर नराख्नू । 

  • बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र उखुको मूल्यको भुक्तानी नदिँदा उनीहरू मर्कामा छन्, यसरी कृषिको आधुनिकीकरणमा पुग्न सकिँदैन ।

  • निर्माण सम्पन्न भइसकेका कामको रकम ठेकेदारलाई निकासा गर्न नरोक्नू ।

  • व्यवसाय गर्नेलाई प्रोत्साहित गर्नुपर्छ, तर व्यक्तिगत रूपमा दिइने कृषि अनुदान आदिका रकमको दुरुपयोग भएको छ, अनुगमन गरौँ । 

  • मौद्रिक नीतिले उत्साह दिएको छ, बजारलाई चलायनमा बनाउने गरी काम गर्नू । 

  • धरहरा छिटो सञ्चालनमा ल्याउनू । 

  • हरेक मन्त्रालयले सय दिनभित्र मान्छेले ‘गरे हैँ भन्ने सोच्ने गरी’ काम गर्नू । 

  • प्राथमिकताप्राप्त आयोजनाहरूका काम वर्षाैँसम्म नसिकने स्थिति अन्त्य गर्नू । 

  • सगरमाथा संवादको तयारीमा लाग्नू ।

  • मैले एक अन्तर्राष्ट्रिय पुरस्कार पाएको रकम सरकारलाई दिएर र थप बजेट विनियोजन गरेर सुरु भएको राष्ट्रिय प्रतिभा पुरस्कार किन नियमित भएन ? नियमित होस् । 

  • राजमार्ग क्षेत्रमा लामो जरा भएका बिरुवा लगाउनू र नयाँ सडक निर्माण गर्दा सुरक्षित हुने गरी डिजाइन गर्नू । प्राथमिकतामा रहेका रेल र पानीजहाज चलाउने योजनामा लागौँ । 

  • काठमाडौंका सुकुम्बासीलाई एकान्तमा लगेर घर बनाइदिएर उनीहरूलाई बजारसँग पहुँच हुन सक्दैन । ती घर काम लागेनन् । त्यो खालका कामबाट शिक्षा लिएर अब व्यावहारिक रूपमा उचित हुने गरी काम गर्नुपर्छ । 

  • तरकारीमा विषादीको प्रयोग गर्ने/नगर्ने क्यारेन्टिनबारे तीन महिनाभित्र निर्णय दिनू । 

  • व्यावसायिक क्षेत्रका सम्बोधन हुने गुनासा सुनौँ । 

सुझावित समाचार