बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई विश्वासको मत दिन कांग्रेस र एमालेले ह्विप जारी गरेका छन्।
मंगलबार प्रदेश सभा सचिवालयमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री लामालाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए। प्रदेश सभाको बैठक आज ३ बजे बस्दै छ।
यस्तै, सत्तासाझेदार दल एमालेले पनि मुख्यमन्त्री लामालाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले मुख्यमन्त्री लामालाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको बताए।
लामाले मुख्यमन्त्री नियुक्त भएको सात दिनमा संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन्।
सत्तासाझेदार दलहरू कांग्रेस र एमालेका ६४ सांसदको समर्थनमा ८ साउनमा मुख्यमन्त्री नियुक्त भएका लामाले विश्वासको मत पाउने निश्चित छ। ११० सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ५६ सांसदको बहुमत आवश्यक हुन्छ।
प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्रका २१, राप्रपाका १२ (सभामुखबाहेक), नेकपा (एकीकृत समाजवादी)का सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।
९ साउनमा शपथग्रहण गरेका मुख्यमन्त्री लामाले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरिसकेका छन्।