दुध तथा दुग्धजन्य पदार्थको खाद्य स्वच्छता र गुणस्तर वृद्धि गर्न उपभोक्तालाई बिक्री गर्नुपूर्व नै गुणस्तर परीक्षण गरेर बिक्री–वितरणको प्रबन्ध मिलाउन दुग्ध व्यवसायीले माग गरेका छन्। आफूहरूले नै न्यून गुणस्तरको दुध खरिद गर्नुपरेको बताउँदै इन्ट्री पोइन्टमै परीक्षण गर्ने र गुणस्तरहीन दुधलाई बिक्री–वितरणमा प्रतिबन्ध लगाइयो भने दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर वृद्धि गर्न सकिने उनीहरूले बताएका हुन्।
राष्ट्रिय खिर दिवसको अवसरमा बुटवल उद्योग वाणिज्य संघमा गरिएको दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर र खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को सम्बन्धमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै दुग्ध व्यवसायीले उपभोक्तालाई बिक्री वितरण गर्नुपूर्व नै दुधको गुणस्तर परीक्षण गरेर मात्रै बिक्री–वितरणको प्रबन्ध मिलाउन स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसायी, व्यवसायी मात्रै नभएर उपभोक्ता पनि भएकाले उपभोग्य वस्तुको गुणस्तरमा स्वयं व्यवसायीले ध्यान दिनुपर्ने बताए। उनले खाद्य स्वच्छता र गुणस्तरीय वस्तुको उपलब्धतामा सबैले ध्यान दिनुपर्ने बताए।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले उपभोक्ताले उपभोग गर्ने दुधको खाद्य स्वच्छता र गुणस्तर सुधार गर्न ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिए । त्यस्तै, उनले डिडिसीलगायतका दुग्धजन्य उद्योगमा रोकिएको किसानको बक्यौता चाँडो भुक्तानीको प्रबन्ध मिलाउन पनि आग्रह गरे। संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले खाद्य स्वच्छता र गुणस्तर वृद्धिका लागि एकले अर्कालाई देखाउनेभन्दा पनि सबैले आफ्नो जिम्मेवारी बोध गर्ने हो भने सुधार गर्न सकिने धारणा राखे ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलवाईले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा रहेका प्रावधानबारे जानकारी गराएका थिए। लुम्बिनी दुग्ध विकास आयोजनाका प्रमुख योगेन्द्र शाहले दुधको स्वच्छता र गुणस्तरका विषयमा धारणा राखेका थिए ।
त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघ डेरी वस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायले दुधको बिक्री–वितरण गर्ने विक्रेतालाई सम्बन्धित पालिकाले सूचीकृत गरेर बजारमा पठाउन तयार भएको दुधको स्वच्छता तथा गुणस्तर नापजाँच गरेर मात्रै बिक्री–वितरणको प्रबन्ध गर्नुपर्ने बताए। उनले दुधको स्रोतमै समस्या रहेको भन्दै स्रोतलाई नै सुधार गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा बुटवल उपमहानगरपालिका अनुगमन शाखा प्रमुख ठगीश्वर पोखरेल, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुद्र जिसी, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, सचिव प्रतीक पोखरेललगायतले दुध तथा दुग्धजन्य पदार्थको स्वच्छता र गुणस्तरबारे धारणा राखेका थिए।