१० लाख नगदसहित जुवा खेलिरहेका नौजना पक्राउ

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगन्जको संयुक्त टोलीले ओखर (जुवा) खेलिरहेको अवस्थामा नौजनालाई नियन्त्रणमा लिएको छ। १० लाख ११ हजार नगदसहित प्रहरीले सोमबार साँझ साढे ६ बजेतिर काठमाडौं महानगरपालिका– ४ चुनदेवीबाट नौजनालाई प्रक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौं जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भई टोखा नगरपालिका– ५ बस्ने ३८ वर्षीय नारायण लाबुङ, बुढानीलकण्ठ नगरपालिका– ५ देउला टोलका २१ वर्षीय कविर देउला, काठमाडौं वसन्तपुरका २१ वर्षीय निलेश महर्जन रहेका छन्।

काठमाडौं महानगर– १९ इनाटोलका ४५ वर्षका राजेश श्रेष्ठ, बुढानीलकण्ठ– ५ देउला टोलकी ३३ वर्षीया सरिता देउला, काठमाडौं डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौं कालीमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाडौं डल्लुकै ५२ वर्षीय प्रकाश शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चुनदेवीस्थित यमकुमारी आलेको साढे तीनतले घरको छतमा हारजित हुने गरी ओखर (जुवा) खेलाइरहेको भन्रे गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ। 

उनीहरूको साथबाट बरामद १० लाख ११ हजार रुपैयाँ र १३ वटा ओखरसहित नियन्त्रणमा लिई प्रहरी वृत्त महाराजगन्जले थप अनुसन्धान गरिरहेको छ।

सुझावित समाचार