२३ देखि ३१ साउनसम्म पूरक परीक्षा सञ्चालन हुँदै, २२ साउनसम्म फाराम भर्न पाइने
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विषय लागेर अनुत्तीर्ण भएका विद्यार्थीलक्षित एसइई पूरक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर करिब ६ सय परीक्षा केन्द्र तोकेर उत्तरपुस्तिका र प्रश्नपत्र पठाइसकिएको छ ।
बोर्डले २३ देखि ३१ साउनसम्म पूरक परीक्षा सञ्चालन गर्नेछ । यसपटक पूरक परीक्षामा दुई लाख ५० हजार हाराहारी विद्यार्थी सहभागी हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
तर, यसमा संख्या घट्न पनि सक्नेछ । उनका अनुसार उत्तरपुस्तिका र प्रश्नपत्र सम्बन्धित ठाउँमा पुगिसकेको छ भने केन्द्राध्यक्ष नियुक्तिको काम सम्बन्धित प्रदेशले नै गर्नेछ ।
विद्यार्थीले पूरक परीक्षामा सहभागी हुन २२ साउनसम्म फाराम भर्न पाउनेछन् । बोर्डले रि–टोटलिङका लागि निवेदन दिएका दुई हजार विद्यार्थीको नतिजा अझै सार्वजनिक गर्न नसकेका कारण फाराम भर्ने मिति २२ साउनसम्मलाई तोकिएको हो ।