साउन भगवान् शिवको महिना हो । शिवलाई दुध र दुधमा बनेका परिकार मन पर्छ
साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका वेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।
साउने झरी पर्ने वेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दुधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् ।
साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने वेलामा गाई, भैँसीले पनि धेरै दुध दिन्छन् । दुध धेरै भएपछि इष्टमित्र, चेलिबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दुध र दुधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुन सक्ने धर्मशास्त्रविद् भट्टराई बताउँछन् । तर, यसको कुनै शास्त्रीय वचन भने छैन ।
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दुधमा पायस अर्थात् खिर बनाउँछन् ।
चामल, सावदाना, सेवई, मकै, गाँजरलगायतको खिर बनाउने गरिन्छ । सावदानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।
नेपाली बृहत् शब्दकोशले ‘दुधमा पकाइएको भात, दुधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ ।
नेपाली समाजमा असार १५ गते दही चिउरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउखट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।
दुधबाट बनेको खिरले मानव शरीरमा रोगप्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको ०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दुधमा हुने तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रतिएक सय ग्राम प्रशोधित दुधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।