सेयर बजारले दुई वर्ष ११ महिना ११ दिनअघिको कीर्तिमानी कारोबार पछ्याउन थालेको छ । २ भदौ ०७८ मा नेप्से परिसूचक ‘अल टाइम हाई’ (कीर्तिमानी विन्दु) ३१९८.१९ विन्दु पुगेको थियो । सो दिन उच्चतम विन्दुसँगै २० अर्ब ४९ करोड ९२ लाखको सेयर कारोबार भएको थियो । सोमबार परिसूचक २०.४६ को सामान्य अंकले घटे पनि कारोबार रकमले २० अर्बमाथिको कीर्तिमानी रकमलाई पछ्याएको हो ।
कारोबारमा अहिलेसम्मकै कीर्तिमानी रकम भने २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ हो । यो ३१ साउन ०७८ मा पुगेको थियो । कीर्तिमानी कारोबार कायम भएका वेलामा नेप्से ३१५४.३४ विन्दुमा थियो ।
पछिल्लो समय बजारमा परिसूचकमा भइरहेको लगातारको वृद्धिले सेयर कारोबारमा आकर्षण बढ्दा पुराना निष्क्रिय सेयर कारोबारी पनि सक्रिय हुन थालेको धितोपत्र दलालहरू बताउँछन् । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाका अनुसार पुराना निष्क्रिय सेयर कारोबारीहरू फेरि सक्रिय हुन थालेका छन् । उनले भने, ‘बजारमा अहिले देखिएको सकारात्मक पाटो के हो भने पुराना निष्क्रिय कारोबारी पनि सक्रिय हुन थालेका छन् भने नयाँ लगानीकर्ता आकर्षित हुन थालेका छन् ।’
चालू आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीतिले संस्थागत लगानीकर्तालाई बैंक तथा वित्तीय संस्थाबाट लिने २० करोड ऋणको सीमा हटाएपछि कारोबारमा थप वृद्धि हुने उनको अनुमान छ ।
संस्थागत लगानीकर्ताको प्रवेशले सेयर कारोबारलाई बढाउनुका साथै सरकारले राजस्व पनि बढी प्राप्त गर्ने भएकाले बजार स्थायित्वतर्फ उन्मुख भएको उनको विश्लेषण छ । उनले भने, ‘संस्थागत लगानीकर्ताको प्रवेशले बजारलाई अनावश्यक उतारचढावबाट जोगाएर स्थायित्वतर्फ लैजान्छ ।’
लामो दूरीको उकालो यात्रापछि बटुवाले थकाइ मारेजस्तै सोमबार परिसूचक पनि सामान्य अंकले मात्रै घटेको जानकारहरू विश्लेषण गर्छन् । आइतबार ११३.४२ को उच्च अंकले बढेकाले नेप्से सोमबार २०.४६ को सामान्य अंकले घटेको ब्रोकर सापकोटाको बुझाइ छ । उनले भने, ‘अब लामो समयसम्म राजनीतिमा अनपेक्षित परिवर्तन आएन भने बजारको परिसूचक सामान्य घट्ने र फेरि बढ्ने शृंखला चलिरहने देखिन्छ ।’
सोमबारको प्रातकालीन कारोबारमा नेप्से परिसूचक बढेर २७३७.६९ विन्दुसम्म पुगेको थियो । तर, छोटो अवधिमै परिसूचक खस्किएर २६६८.६४ विन्दुमा झ¥यो । त्यसपछि सामान्य उतारचढाव व्यहोर्दै बजार २६६१.०९ विन्दुमा रोकियो । समग्रमा बजारको परिसूचक ०.७६ प्रतिशतको झिनो अन्तरले घटेको हो ।
बजारमा सबैभन्दा बढी गुमाउनेमा व्यापार, माइक्रो फाइनान्स र विकास बैंक समूहका कम्पनी छन् । व्यापार समूहको परिसूचक ४.५४ प्रतिशतले खस्किएको छ भने माइक्रो फाइनान्स समूहको परिसूचक ३.७१ प्रतिशतले घटेको छ । विकास बैंक समूहको परिसूचक २.६९ प्रतिशतले घटेको छ । बजारमा नाफा आर्जन गर्नेमा फाइनान्स समूह र जलविद्युत् समूहका कम्पनी छन् । फाइनान्स समूहका परिसूचक १.८८ प्रतिशत र जलविद्युत् ०.८१ प्रतिशतले बढेको छ ।
जिडिपीको ७४ प्रतिशत पुग्यो बजार पुँजीकरण
नेप्सेका अनुसार सोमबार बजार पुँजीकरण ४२ खर्ब २२ अर्ब २३ करोड पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशको कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब चार अर्ब कायम छ । जिडिपीको अनुपातमा बजार पुँजीकरण ७४.०४ प्रतिशत कायम भएको छ । विश्वविख्यात धनाढ्य वारेन बफेटले प्रतिपादन गरेको यो सूचक अन्तर्राष्ट्रिय सेयर बजारमा बफेट इन्डिकेटरका रूपमा प्रचलित छ । यस्तो अनुपात ५० देखि ७५ प्रतिशतको बीचमा कायम भएको अवस्थालाई सेयर बजार न्यून मूल्य अवस्थामा रहेको, ७५ देखि ९० प्रतिशतको बीचमा रहेमा उचित मूल्यमा रहेको र ९० देखि ११५ प्रतिशतको बीचमा रहेमा अधिक (उचालिएको) मूल्यमा रहेको मानिन्छ ।
विश्व बैंकका अनुसार सन् २००० मा अमेरिकाको जिडिपीको अनुपातमा स्टक बजारको पुँजीकरण १५३ प्रतिशतसम्म पुगेको थियो । सोही वेलामा त्यहाँको सेयर बजारले ‘डटकम बबल ब्रस्ट’ (ठूलो गिरावट) सामना गर्नुपरेको थियो । संसारका विभिन्न देशले यो सूचकलाई बजार कुन अवस्थामा रहेको बुझ्न प्रयोग गर्छन् । अहिलेको अवस्थामा नेपालको बजार पुँजीकरण अर्थतन्त्रको अनुपातमा न्यून मूल्यमै रहेकाले चिन्ताको विषय नरहेको अर्थशास्त्रीको विश्लेषण छ ।
पुराना निष्क्रिय कारोबारी सक्रिय हुन थाले : धर्मराज सापकोटा, अध्यक्ष, स्टक ब्रोकर एसोसिएसन
बजार बढ्दै जानेमा अब शंका रहेन । राजनीतिमा अनपेक्षित परिवर्तन आएन भने सेयर बजार अझै माथि जाने संकेत दिएको छ । परिसूचक अलिकति घट्दै–बढ्दै जाने क्रममा देखिन्छ । बजारमा अहिले देखिएको सकारात्मक पाटो के हो भने पुराना निष्क्रिय कारोबारी पनि सक्रिय हुन थालेका छन् । नयाँ लगानीकर्ता पनि आकर्षित हुन थालेका छन् ।