जनतामा जान रणनीति बनाउँदै माओवादी

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

पदाधिकारी भन्छन्– वर्ग भुल्दा पार्टी खुम्चियो, प्रचण्डले आज संश्लेषणात्मक जवाफ दिने

माओवादीले जनतामा जान ठोस रणनीति बनाउने भएको छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति, विगतको समीक्षा र आगामी रणनीतिमा केन्द्रित भएर शीर्ष नेताहरूले चार दिन निरन्तर बहस गरेका छन् ।

चार दिनको बैठकमा धारणा राखेका १८ पदाधिकारीले वर्ग भुल्दा पार्टी खुम्चिएको निष्कर्ष निकाल्दै पार्टी बनाउने जनतामै फर्किनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियता, जनजीविका, महँगीलगायतका विषय सशक्त रूपमा उठाउनुपर्ने, ७७ वटै जिल्लामा केन्द्रीय नेताहरू अभियानसहित खटिनुपर्ने, माओवादी नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा गरेका कामबारे जनतालाई स्पष्ट पारेर जानुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

अग्नि सापकोटा उपाध्यक्ष एवं प्रवक्ता माओवादी
पार्टी खुम्चिँदै जानुमा वर्गसँगको सम्बन्धमा कमी आउँदै जानु भन्ने रहेको छ । वर्गीय दृष्टिकोण भुत्ते, बोधो भयो, वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको छ । यसमा पनि हाम्रो व्यापक छलफल भएको छ । वर्ग र जनतासँग फर्किनुपर्छ भन्ने निचोड छ ।

विचारको विकास गर्दै पार्टी निर्माणमा लाग्नुपर्नेमा नेताहरूको जोड छ । सत्ताकेन्द्रित हुँदा विगतमा समस्या देखिएको औँल्याउँदै नेताहरूले जनतामा जाने उपयुक्त वेला आएको बताएका छन् । उनीहरूले नेताहरूको आचरण, जीवनशैली, जनसम्बन्ध सुधार गरेर जानुपर्ने पनि औँल्याएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि सोमबारसम्म केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकमा नेताहरूले धारणा राखेका हुन् । २२ सदस्यीय कार्यालय सदस्यहरूले धारणा राख्ने क्रम सोमबार सकिएको छ । सदस्यहरूले उठाएका विषयसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संश्लेषणात्मक धारणा राख्नेछन् ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिका साथै पार्टी निर्माणसँग सम्बन्धित भएर नेताहरूले धारणा राखेको माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । वर्गीय दृष्टिकोण बोधो भएको र वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको निष्कर्ष सदस्यहरूको रहेको छ । ‘पार्टी खुम्चिँदै जानुमा वर्गसँगको सम्बन्धमा कमी आउँदै जानु भन्ने रहेको छ । वर्गीय दृष्टिकोण भुत्ते, बोधो भयो, वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको छ । यसमा पनि हाम्रो व्यापक छलफल भएको छ । वर्ग र जनतासँग फर्किनुपर्छ भन्ने निचोड रहेको छ,’ उनले भने । बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा र पम्फा भुसाल, उपमहासचिवहरू जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, सचिवहरू गणेश शाह, चक्रपाणि खनाल, राम कार्की, हितराज पाण्डे, हितमान शाक्य, कोषाध्यक्ष श्रीराम ढकाललगायतले धारणा राखेका छन् ।

नेताहरूलाई समय निर्धारण नगरी धारणा राख्न दिइएको थियो । ‘गहन रूपमा छलफल भयो । जसलाई जति समय आवश्यक छ, त्यसैअनुसार समय दिइएको थियो,’ सापकोटाले भने, ‘परिस्थिति जटिल र पेचिलो छ । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाल पनि छन् । एकखाले सन्देश दिएर सरकारबाट बाहिरिएका छौँ । हाम्रो वर्गसितको कडी अलि कमजोर भएको छ । हामी जनतामा फेरि फर्किनुपर्छ भन्ने खालका विषय आएका छन् ।’

कार्यालय बैठकपछि स्थायी समिति, केन्द्रीय समितिको बैठक राख्ने माओवादीको तयारी छ । जनतासम्म बहस चलाउने माओवादी योजना छ । ‘विचार, सिद्धान्त, रणनीति, कार्यनीति, दृष्टिकोणमा नयाँ योजना र कार्यक्रमसहित बृहत् अभियानमा जान्छौँ,’ सापकोटाले भने, ‘हामी एउटा ठूलो रूपान्तरणको प्रक्रियामा छौँ ।’ अभियानका क्रममा ७७ वटै जिल्लामा केन्द्रीय नेतृत्वको टिम पुग्नेछ । 

See More On

सुझावित समाचार