झन्डै एक महिनापछि खुल्यो बेँसीसहर-चामे सडक

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडकमा बाढीले पक्की पुल बगाएको झन्डै एक महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ। मनाङको चामे गाउँपालिका र नासों गाउँपालिकाको सीमास्थित तिमाङखोला छहरामा बाढीले पक्की पुल बगाएको २८ दिनपछि फलामे पुल राखिएको हो।

गत असार १७ गते राति आएको बाढीले २ वर्षअघि निर्माण गरिएको पक्की पुल बगाएपछि मनाङ जाने सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन। डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सबइन्जिनियर सुमन अधिकारीले तिमाङ छहरामा फलामको बिमसहितको पुल निर्माणसँगै सोमबारदेखि सवारी पूर्ण रूपमा सुचारु भएको बताए।

उनका अनुसार तिमाङ छहरामा बिमसहित ५ मिटर लम्बाइ र साढे ३ मिटर चौडाइको फलामे पुल निर्माण गरिएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सामग्री सहयोगमा डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले उक्त पुल निर्माण गरेको बताए।

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट नासों गाउँपालिका–९ दानक्युसम्म सवारीसाधनहरू सञ्चालन भइरहेका थिए। तिमाङ खोलामा काठेपुल निर्माणपश्चात् मनाङको चामेबाट तल्लो क्षेत्र दानक्युको कैचु डाँडासम्म सवारीसाधनहरू चल्न थालेका छन्।

गत १७ असारमा आएको बाढीले तिमाङ खोला छहराको पक्की पुल र पावर हाउसको काठेपुल बगाएको थियो।  त्यसअघि तिमाङ खोलामा ०७८ असारमा आएको बाढीले पावरहाउसको बेलिब्रिजसहित छहराको काठेपुल पनि बगाएको थियो।

सुझावित समाचार