पेरिस ओलम्पिक २०२४ : नेपाली खेलाडीको निराशाजनक प्रदर्शन

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण
पेरिस ओलम्पिक २०२४ : नेपाली खेलाडीको निराशाजनक प्रदर्शन

सुटिङकी सुस्मिता नेपाल १० मिटर एयर राइफलमा निसाना लगाउँदै (बायाँ), दुई सय मिटर फ्रिस्टाइल विधामा प्रतिस्पर्धा गर्दै डुवाना लामा (कालो क्याप) । तस्बिर सौजन्य : लोकेन्द्र बस्नेत/खेप

३३औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाली खेलाडीले निराशाजनक प्रदर्शन गरेका छन् । प्रतियोगिताको तेस्रो दिन आइतबार पौडीका डुवाना लामा र सुटिङकी सुस्मिता नेपालले प्रतिस्पर्धा गरेका थिए । दुवै खेलाडीले पहिलो चरणबाट बाहिरिएका छन् । नेपालबाट सहभागी ब्याडमिन्टनका प्रिन्स दाहालले शनिबार राति आफ्नो पहिलो खेल गुमाएका छन् । यसअघि टेबुलटेनिसका स्यान्टु श्रेष्ठ पहिलो चरणमै पराजित भए । 

वाइल्ड कार्डबाट पेरिस ओलम्पिकमा भाग लिएकी सुस्मिताले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी आफ्नो स्पर्धाको ४२औँ स्थानमा रहिन् । समग्रमा उनी पुछारबाट एक स्थानमाथि रहिन् । शरणार्थी टोलीकी लुना सोलोमन ४३औँ स्थानमा रहेकी छिन् । पेरिसदेखि स्थलमार्गबाट करिब तीन घण्टा टाढा रहेको चतरोक्स सुटिङ रेन्जमा स्पर्धा भएको थियो । जहाँ नेपालकी सुस्मिताले कुल ६५४ अंकमा ६०७.८ अंक जोडिन् । 

१० मिटरको एयर राइफलमा उनले ६ पटक सिरिजमा प्रतिस्पर्धा गरेकी थिइन् । सुस्मिताले पहिलो सिरिजमा १०४.५, दोस्रोमा १०१.७, तेस्रोमा १००.७ र चौथोमा ९९.९ अंक जोडिन् । सुरुवातदेखि नै कमजोर देखिएकी उनले पाँचौँ सिरिजमा १०२.२ र छैटौँमा ९८.२ अंक हात पारिन् । यस विधाको शीर्ष आठ खेलाडी मात्र फाइनल पुग्ने प्रावधान छ । आफ्नो पहिलो ओलम्पिक यात्रामा उनी पहिलो चरणबाटै बाहिरिइन् । 

सुस्मिता सहभागी इभेन्टमा उनको नाममा कुल ६५४ अंकमा ६१९.१ अंकको राष्ट्रिय कीर्तिमान छ । युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेलेकी सुस्मिताले जकार्तामा सम्पन्न एसियन च्याम्पियनसिपको क्वालिफिकेसनमा ६१६.२ स्कोर गरेकी थिइन् । गत वर्ष असोजमा चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदको खेलाडी छनोट प्रतियोगितामा उनले राष्ट्रिय रेकर्ड राखेकी थिइन् । 

पेरिसमा दक्षिण कोरियाका ह्युजिन बान ओलम्पिक रेकर्डका साथ सर्वाधिक ६३४.५ स्कोर गर्दै शीर्ष स्थानमा रहिन् । १० मिटर एयर राइफलको स्वर्ण भिडन्तमा नर्वेकी हेग जिनेट, स्विट्जरल्यान्डकी एन्ड्री गोमियट, चीनकी युटिङ हुवाङ, भारतकी रमिता, काजकिस्तानकी एलेक्जेन्ड्रा, अमेरिकाकी सगेन माडालेना र फ्रान्सका ओसिएने मुलरबीच हुनेछ । 

पौडीकी डुवाना लामा र सुटिङकी सुस्मिता नेपालले पेरिस ओलम्पिकमा आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत तोड्न सकेनन् । दुवै खेलाडीले ओलम्पिकमा कम्तीमा राष्ट्रिय रेकर्ड भंग गर्ने लक्ष्य राखेका थिए ।

पौडीकी डुवाना पुछारमा 
पौडीतर्फ नेपालकी डुवाना लामाले निराशाजनक प्रदर्शन गरेकी छिन् । दुई सय मिटर फ्रिस्टाइल विधाको पहिलो हिटमा लामा सहभागी सात खेलाडीमध्ये पुछारमा रहिन् । हिट चरणको अन्तिम स्थानमा रहेकी डुवानाले दुई सय मिटर फ्रिस्टाइल २ मिनेट २०.७४ सेकेन्डमा पूरा गरेकी थिइन् । उनले आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमान २ मिनेट १२.४६ सेकेन्डसमेत सुधार गर्न सकिनन् । 

उनले गत वर्ष जापानको फुकुओवामा राष्ट्रिय रेकर्ड राखेकी थिइन् । गत फेब्रुअरीमा वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा आफैँले बनाएको २ मिनेट १४.५० सेकेन्डलाई पनि डुवानाले उछिन्न सकिनन् । गौरिका सिंहको नाममा रहेको २ मिनेट ११.९४ सेकेन्ड राष्ट्रिय कीर्तिमानभन्दा डुवाना टाढै रहिन् । 

यसैबीच, पौडीकी प्रशिक्षक नयना शाक्यले डुवाना तीन दिनअघि फिजियोथेरापीका क्रममा घाइते भएको जानकारी दिएकी छिन् । ‘डुवाना तीन दिनअघि फिजियोथेरापीमा जाँदै गर्दा घाइते भएकी थिइन् । हिँड्दाहिँड्दै खुट्टामा समस्या आएपछि स्वास्थ्य परीक्षण गराउँदा एंकलमा पुरानै समस्या बल्झिएको देखियो,’ शाक्यले भनिन्, ‘उनको खुट्टा सुन्निएको थियो । तीन दिनको उपचार र फिजियोथेरापीपछि खेल्न सक्ने अवस्थामा आएको हो । त्यसैले सोचेअनुसारको नतिजा आउन सकेन । यस्तो अवस्थामा पनि डुवानाले साहसिक प्रदर्शन गरेकी छिन् ।’

प्रिन्सलाई कोर्टमा एल साल्भाडोरका प्रशिक्षकले निर्देशन दिए
नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले समूह ‘पी’मा विश्व वरीयताको दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग ८–२१ र ६–२१ को सेटमा पराजित भएका छन् । उनले ४३औँ वरीयताका आयरल्यान्डका नियात नुयन र इजरायलका ५९औँ मिसा जिल्वरमनविरुद्ध खेल्न बाँकी छ । प्रिन्स विश्व वरीयतामा १७२औँ स्थानमा रहेका छन् । 

नेपाल ब्याडमिन्टन संघले समयमै प्रशिक्षकको नाम सम्बन्धित निकायलाई नबुझाउँदा प्रिन्स ओलम्पिकमा प्रशिक्षकविहीन बने । तर, प्रिन्सले डेनमार्कका भिक्टरविरुद्ध प्रतिस्पर्धा गरिरहँदा कोर्टबाहिरबाट एल साल्भाडोरका प्रशिक्षकबाट उनले निर्देशन प्राप्त गरिरहे । प्रशिक्षकविना ओलम्पिक खेल्न पुगेका प्रिन्सलाई एल साल्भाडोरका विदेशी प्रशिक्षकले सहयोग गरेका हुन् । संघले आयोजकसँग प्रिन्सका लागि प्रशिक्षक उपलब्ध गराउन आग्रह गरेको थियो ।

संघको आग्रहमै प्रिन्सले आफ्नो पहिलो खेलमा विदेशी प्रशिक्षक पाएका हुन् । पेरिसमा उनले एल साल्भाडोरकै प्रशिक्षकबाट प्रशिक्षण लिइरहेका छन् । एनओसीका उपाध्यक्ष तथा निर्देशक चतुरानन्द राजवैद्यले प्रिन्सका लागि विदेशी प्रशिक्षक राखिएको बताए । ‘हामीले सुरुमा श्रीलंकन अथवा अरू कुनै विदेशी कोचलाई राख्ने तयारी गरेका थियौँ । पेरिस आएपछि एल साल्भाडोरको प्रशिक्षकलाई राखेर प्रशिक्षण पनि गराइराखेका छौँ,’ राजवैद्यले भने । 

सुझावित समाचार