झन्डै २१ वर्षपछि पूर्वमन्त्री जोशीको मुद्दा छिनोफानो :सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर

अख्तियारले ०६० पुसमा दायर गरेको मुद्दामा विशेषले डेढ वर्ष कैद र चार करोड ३२ लाख जरिवाना गरेपछि जोशी सर्वोच्च पुगे, १२ वर्षपछि सर्वोच्चले पनि भ्रष्टाचारी ठहर गर्दै सुनायो नौ महिना कैद र ६९ लाख १५ हजार जरिवाना

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीलाई नौ महिना कैद सजाय सुनाइएको छ । सर्वोच्चबाट पनि पूर्वमन्त्री जोशी भ्रष्टाचार ठहर भए पनि विशेष अदालतले गरेको डेढ वर्षको सजाय भने घटेको छ । मुद्दा एक दशकदेखि सर्वोच्चमा विचाराधीन थियो । 

मुद्दामा जोशीलाई नौ महिना कैद सजाय तोकिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए । यसअघि विशेष अदालतले उनलाई डेढ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चका न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालले यस मुद्दामा फैसला गर्दै जोशीलाई नौ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेका हुन् ।

यससँगै लगाउमा रहेका सातवटै मुद्दामध्ये नेपाल सरकारविरुद्ध ताराराज पाण्डे र नेपाल सरकारविरुद्ध दिनेशराज जोशी तथा दिनेशराज जोशीविरुद्ध नेपाल सरकारको मुद्दामा पुनरावेदन जिकिर नपुग्ने फैसला भएको छ । गोविन्दराज जोशीविरुद्ध नेपाल सरकार मुद्दामा केही उल्टी हुने फैसला भएको छ । यसैगरी, वासुदेव पन्तका साथै ताराराज पाण्डेका दुईवटा मुद्दामा उल्टी हुने फैसला उक्त इजलासले गरेको छ । 

यो मुद्दा सर्वोच्च अदालतमा दशकभन्दा पनि अघि दर्ता भएको थियो । १ जेठबाट हेर्दाहेर्दैमा राखेर यो मुद्दाको सुनुवाइ थालिएकामा २० जेठमा आइतबारका लागि भनी निसु तोकिएको थियो । यससँग सम्बन्धित सातवटै मुद्दा ०६९ फागुनदेखि ०७० साउनसम्म सर्वोच्चमा दर्ता भएका थिए । नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक युवराज शर्माको गैरकानुनी सम्पत्ति आर्जन मुद्दाको फैसलाको पूर्णपाठ आएपछि सर्वोच्चबाट धमाधम यस प्रकृतिका पुराना मुद्दा फैसला हुन लागेका हुन् । शर्माको मुद्दा २०६९ को ९ चैतमा दर्ता भएकामा सर्वोच्चको पूर्ण इजलासबाट २८ असार २०७९ मा बल्ल टुंगिएको थियो । यद्यपि, कृषि आयका साथै आय गणनाका विषयमा नजिर हुन सक्ने कारण देखाउँदै यस्तै प्रकृतिका अन्य मुद्दाको सुनुवाइ रोकिएको थियो ।

जोशी प्रतिवादी रहेको यस मुद्दामा विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेले पछिल्लोपटक फैसला गरेका थिए । तत्कालीन समयमा जोशीले झन्डै चार करोड रुपैयाँ गैरकानुनी तवरबाट आर्जन गरेको भन्दै सजाय माग गरिएको थियो । उनको तीन करोड ९३ लाख रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको दाबी गरिएकामा दुई करोड १६ लाख रुपैयाँभन्दा बढीबराबर सम्पत्तिको स्रोत वैध नरहेको ठहर विशेषले गरेको थियो । 

जोशीको ०४८ देखि ०५९ सम्मको आय गणना गरेर विशेषले फैसला गरेको थियो । जोशीलाई एक वर्ष ६ महिना कैद र बिगोबमोजिम जरिवाना तथा उति नै रकमबराबर सम्पत्ति असुलउपर हुने फैसला विशेषबाट भएको थियो । यसै मुद्दाका प्रतिवादी वासुदेव पन्त गैरकानुनी आर्जनका मामिलामा सम्पूर्ण बैंकिङ कारोबार हेर्ने, विभिन्न व्यक्तिका नाममा सम्पत्ति राख्ने व्यवस्था मिलाउनेजस्ता कार्यमा संलग्न रहेको पाइएको थियो । पन्त नेपाल बैंक लिमिटेडमा वरिष्ठ बहीरक्षक पदमा कार्यरत थिए । उनले आमा निरकुमारी पन्तका नाममा खाता खोली जोशीको अवैध आर्जन लुकाएको भन्दै उनलाई यस कसुरमा मतियार ठहर गरेको थियो । उनलाई विशेषले प्रतिवादीको अपराधमा प्रत्यक्ष र सक्रिय संलग्नता रहेको ठहर गर्दै ६५ लाख ५६ हजार रुपैयाँ जरिवाना तथा ६ महिना कैद सजाय हुने फैसला गरेको थियो । 

ताराराज पाण्डेको नाममा रहेको घरजग्गा भने जोशीको आयबाट खरिद गरिएको देखिएकाले जफतको फैसला विशेषले गरेको थियो । यस मुद्दाका प्रतिवादीहरू निरकुमारी पन्त र रामकृष्ण तिवारीलाई विशेषले सफाइ दिएको थियो । यसैगरी, दिनेशराज जोशीको नाममा रहेको सम्पत्ति जफत हुने फैसला भएको थियो ।

सोही फैसलाविरुद्ध चित्त नबुझेका पक्षहरूले सर्वोच्चमा पुनरावेदन दर्ता गराएका थिए । जोशीले प्रतिनिधिसभा विघटन भएकाले आफू कुनै सार्वजनिक पदमा बहाल नरहेको दाबी गर्दै पुनरावेदन दर्ता गराएका थिए । तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान ऐनले एक वर्षको हदम्याद दिए पनि आफू सांसदको पदबाट मुक्त भएको एक वर्ष ९ महिनापछि बल्ल मुद्दा दर्ता भएका कारण मुद्दा खारेज हुनुपर्ने उनको माग थियो । साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ आउनुअघि नै आफूले पेस गरेको सम्पत्ति विवरणलाई आधार मानेर उक्त ऐनअनुसार आफूमाथि मुद्दा चलाउन नमिल्ने जिकिर उनले पुनरावेदनमा गरेका थिए । विशेषबाट कसुर ठहर भएका अन्य तीनजना पनि आफूले सफाइ पाउनुपर्ने माग गर्दै सर्वोच्च पुगेका थिए । 

जोशीको मुद्दा सर्वोच्च पुगेको १२ वर्षमा भयो फैसला
विशेष अदालतले जोशीको दुई करोड १६ लाख रुपैयाँभन्दा बढीबराबर सम्पत्तिको स्रोत वैध नरहेको ठहर गर्दै जोशीलाई एक वर्ष ६ महिना कैद र बिगोबमोजिम जरिवाना तथा उति नै रकमबराबर सम्पत्ति असुलउपर हुने फैसला सुनाएको थियो । तत्कालीन समयमा जोशीले झन्डै चार करोड रुपैयाँ गैरकानुनी तवरबाट आर्जन गरेको भन्दै सजाय माग गरिएको थियो । यसमा विशेषले जोशीको ०४८ देखि ०५९ सम्मको आय गणना गरेर फैसला गरेको थियो । सोही फैसलाविरुद्ध जोशीले ६ फागुन ०६९ मा सर्वोच्चमा पुनरावेदन दर्ता गराएका थिए ।

जोशीले प्रतिनिधिसभा विघटन भएकाले आफू कुनै सार्वजनिक पदमा बहाल नरहेको दाबी गर्दै पुनरावेदन दर्ता गराएका थिए । आफू सांसदको पदबाट मुक्त भएको एक वर्ष नौ महिनापछि बल्ल दर्ता भएका कारण मुद्दा खारेज हुनुपर्ने उनको माग थियो । साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ आउनुअघि नै आफूले पेस गरेको सम्पत्ति विवरणलाई आधार मानेर उक्त ऐनअनुसार आफूमाथि मुद्दा चलाउन नमिल्ने जिकिर उनले पुनरावेदनमा गरेका थिए ।

५० हजार धरौटीमा छुटे निलम्बित मुख्यसचिव
अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा विशेष अदालतमा उपस्थित भएका मुख्यसचिव वैकुण्ठ अर्यालसँग धरौटी माग गर्ने आदेश भएको छ । आइतबार विशेष अदालतले उनीसँग ५० हजार धरौटी माग गर्ने आदेश गरेको हो । मुद्दामा अर्यालमाथि ३८ करोड ६७ लाख रुपैयाँभन्दा बढीको बिगो मागदाबी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ९ असारमा उनीसमेत ११ जनामाथि मुद्दा दायर गरेको थियो । अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भनी दायर मुद्दाका प्रतिवादीमध्ये अर्याल एक हुन् । मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले थुनछेक आदेश गरेको हो । अर्यालसमेतले मदिरा र सुर्तीजन्य पदार्थमा प्रयोग हुने स्टिकर छपाइको सम्झौताको क्रममा अनियमितता गरेको मुद्दा हाल विशेषमै विचाराधीन छ । २५ पैसामा छपाइ हुँदै आएको स्टिकरका लागि ९० पैसामा छाप्ने सम्झौता गरी भ्रष्टाचार भएको दाबी अख्तियारको छ । ४३ करोड ३२ लाख थान अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको भन्दै अर्यालमाथि ३८ करोड ६७ लाख रुपैयाँभन्दा बढीको बिगो मागदाबी गरिएको छ । अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको जिम्मेवारीमा रहँदा नै अनियमिततामा संलग्न रहेको अभियोग लगाइएको छ । 

उनी सुरक्षण मुद्रण विकास समितिको अध्यक्षसमेत थिए । उनले गैरकानुनी कामकारबाही सम्पादन गर्न प्रत्यक्ष सहयोग पुर्याई बजेट सिलिङ दिने, कार्यसम्पादन सम्झौता गर्ने, खरिद गुरुयोजना स्वीकृत गर्नेजस्ता कामकारबाहीमा संलग्न रहेको अभियोगपत्रमा उल्लेख छ । अर्यालमाथि अख्तियारले ‘समितिको अध्यक्षको हैसियतले गर्नुपर्ने जिम्मेवारी बहन नगरेको, तर मन्त्रालयको सचिवको हैसियतले कानुनले नदिएको अधिकार प्रयोग गरी कार्य गरे–गराएको’ भन्दै मुद्दा चलाएको हो । 

सुझावित समाचार