मार्गप्रशस्त गर्न मुख्यमन्त्री सोडारीलाई सांसदहरूको आग्रह

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले राजीनामा दिएर वा तत्काल विश्वासको मतको सामना गरेर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आग्रह गरेका छन्। आइतबार प्रदेश सभाको विशेष अधिवेशनको विशेष समयमा बोल्दै सांसदहरूले बाढीपहिरोले नागरिक आक्रान्त भएका र बजेट शून्यताका कारण प्रदेश अप्ठेरो अवस्थामा रहेकाले मुख्यमन्त्रीलाई निकास दिन आग्रह गरे।

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वास गुमाइसकेको अवस्थामा कुर्सीमा टाँसिएर बस्नु अनैतिकताको पराकाष्ठा भएको टिप्पणी गरे। बाढीपहिरोका कारण आक्रान्त नागरिकले सरकार भएको अनुभूति गर्न नपाएको उल्लेख गर्दै उनले भने, ‘बाढीपहिरोपीडितले राहत पाएका छैनन्। सरकार आँखा चिम्लेर बसेको छ। सरकारले विश्वासको मत गुमाइसकेको छ, मुख्यमन्त्रीले ढिलो नगरी राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुपर्छ।’

वर्षाको पूर्वानुमान रहे पनि क्षति न्यूनीकरणका लागि सरकारले कुनै तयारी नगरेको र पीडित नागरिकलाई राहत दिन नसकेको उनको आरोप छ। विपदले प्रदेश अप्ठेरो अवस्थामा रहेका वेला सदनको विश्वास गुमाइसकेका मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोलिदिनुपर्ने उनले प्रस्ट्याए।

सत्तारूढ नेकपा माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले सदनमा यथाशीघ्र विश्वासको मतको सामना गर्न या राजीनामा दिएर नागरिकप्रति जिम्मेवारी देखाउन मुख्यमन्त्री सोडारीलाई आग्रह गरे। बाढीपहिरोका कारण धनजनको ठूलो क्षति भएका वेला सरकार फेरबदल भइरहँदा नागरिकले राहत नपाउने अवस्था रहेको उनले बताए।

‘बाग्मती र लुम्बिनी सरकारले मार्गप्रशस्त गरेको छ। यहाँ पनि सरकार अल्पमतमा छ। कि त छिटोभन्दा छिटो सदन फेस गर्नुपर्यो, होइन भने मार्गप्रशस्त गरेर नागरिकप्रति जिम्मेवारी देखाउनुपर्यो,’ ओलीले भने, ‘बजेट होलिडे भनेर सबैले गिज्याइरहेका छन्, प्रदेश बजेट शून्यतामा गइसक्यो। उद्धार र राहत कहाँबाट गर्ने?’ सुदूरपश्चिम असफल प्रदेश हुने हो कि भन्ने चिन्ता रहेको उनले बताए।

सुदूरपश्चिममा विपदबाट भएको क्षति र नागरिकको अवस्थाबारे सरकारले सदनलाई जानकारी नगराएको भन्दै उनले आपत्ति जनाए। सदनमा मुख्यमन्त्री अनुपस्थित भएकोप्रति लक्षित गर्दै ओलीले बाढीपहिरोको विपत्तीमा सांसदका आवाज सुन्न समय नभएको सरकारले विश्वासको मतको सामना गर्छु भन्नु हास्यास्पद भएको टिप्पणी गरे।

नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन मुख्यमन्त्रीलाई आग्रह गरे। विपदका वेला उद्धार, राहत र पुनर्स्थापनामा सरकार भएको अनुभूति नागरिकले गर्न नसकेको बताए। ‘असारयताको बाढीपहिरोमा प्रदेशमा १३ जनाले ज्यान गुमाएका छन्, ६ जना घाइते भएका छन् । थुप्रै संरचनामा क्षति पुगेको छ, तर सरकार कहाँ छ?’ धामीले भने, ‘मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ सरकार बन्न सहयोग गर्नुपर्छ।’

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले विपद्को वेला सरकारले नागरिकलाई सहयोग गर्न नसकेको बताए। बाढीपहिरोले धनजनको ठूलो क्षति भएको र बाटाघाटा बन्द भएको अवस्थामा पनि नागरिकका समस्याबारे सरकार बेखबर रहेको उनको टिप्पणी थियो। ‘सत्ता आउँछ जान्छ, ठूलो कुरा होइन, जनताको आवाज सुनिदिनुपर्छ,’ उनले भने।

गत असारमा भएको भीषण वर्षाले प्रदेशमा पुगेको क्षतिबारे छलफल गर्न प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका हुन्। कांग्रेस र एमालेका सांसदहरूले सरकारलाई बजेटसम्बन्धी अध्यादेश ल्याउनबाट रोक्नका लागि विशेष अधिवेशनको माग गरेका थिए।

गत २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन्। अल्पमतमा परेपछि सरकारले सदनबाट बजेट पारित गराउन नसक्दा प्रदेश बजेट शून्यताको अवस्थामा छ। कांग्रेस र एमालेले मुख्यमन्त्रीको राजीनामा माग गर्दै आएका छन्। मुख्यमन्त्री सोडारी भने अल्पमतमा परेको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने समयसम्म पर्खने अडानमा छन्।

सुझावित समाचार