मध्यचीनमा पहिरोमा परेर ११ को मृत्यु

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

मध्यचीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त हुँदा ११ जनाको मृत्यु भएको छ। एकजना बेपत्ता भएका छन्।

चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सिसिटिभी)ले आइतबार जनाएअनुसार पहिरोमा १८ जना पुरिएको प्रारम्भिक जानकारी प्राप्त भएको थियो। त्यसमध्ये सुरक्षाकर्मीले ६ जनाको घाइते अवस्थामा उद्धार गरेका छन्।

घटनास्थलमा २४० भन्दा बढी आपतकालीन कर्मचारी परिचालन गरिएको र उद्धार कार्य जारी रहेको सिसिटिभीले समाचारमा उल्लेख गरेको छ। 

पछिल्लो समय चीनमा प्राकृतिक विपत्तिमा मृत्यु हुने बढेका छन्। यसै महिनाको सुरुमा उत्तर र दक्षिणपश्चिममा आएको आकस्मिक बाढीले कम्तीमा २० जनाको ज्यान लिएको थियो। 

मे महिनामा दक्षिणी चीनमा केही दिनको लगातार वर्षाका कारण राजमार्गको पुल खस्दा ४८ जनाको मृत्यु भएको थियो। (रासस/एएफपी)

सुझावित समाचार