यस वर्ष महाकाली नदीमा बेपत्ता भएर तीनजनाले ज्यान गुमाइसकेका छन्
महाकाली नदीमा कञ्चनपुर दोधाराचाँदनी नगरका एक युवक बेपत्ता भएका छन् । नदीबाट दाउरा निकाल्ने क्रममा शनिबार महाकाली नदीमा डुबेर दोधाराचाँदनी नगरपालिका- ४ चाँदनीका रतने भट्ट बेपत्ता भएका हुन् ।
इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज प्रहरी निरीक्षक होमबहादुर चौधरीले नदीबाट दाउरा निकाल्ने क्रममा ५० वर्षीय भट्ट बेपत्ता भएको बताए । महाकाली नदीमा आएको साउने भेलमा परेर दाउरा निकाल्ने क्रममा बेपत्ता भएका भट्टको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज चौधरीले बेपत्ता भएको स्थानदेखि झन्डै पाँच–सात किलोमिटर नदी क्षेत्रमा खोजीकार्य गर्दासमेत नभेट्टाएको बताए । यसअघि महाकाली नदीमा दुई मानिस बेपत्ता भई मृत फेला परेका थिए ।
५ जेठमा दोधाराचाँदनी नगरपालिका- ४ चाँदनीका विष्णु सुनार र १६ असारमा सुर्खेत बाराहाताल गाउँपालिका– ७ का ४५ वर्षीय धनबहादुर गुरुङ बेपत्ता भई मृत फेला परेका थिए ।