नयाँ कम्पनी खुल्ने क्रम २०.२४ प्रतिशतले वृद्धि

विदेशी लगानी भित्र्याउने कम्पनी दर्ता दुई गुणाले बढ्यो

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

आर्थिक वर्ष ०८०/८१ मा २५ हजार सात सय ४६ कम्पनी दर्ता भएका छन् । यो आर्थिक वर्ष ०७९/८० को तुलनामा २०.२४ प्रतिशतले बढी हो । ०७९/८० मा २१ हजार चार सय १३ कम्पनी दर्ता भएको कम्पनी रजिस्ट्रार कार्यालयले जनाएको छ ।

सरकारले गत आर्थिक वर्षको बजेटमार्फत एक रुपैयाँमा कम्पनी खोल्न सकिने व्यवस्था गरेपछि नयाँ कम्पनी खोल्नेको संख्यामा वृद्धि भएको हो । समीक्षा वर्षमा दर्ता रहने कम्पनीहरूमा प्राइभेट लिमिटेड (प्रालि) बढी छन् । सो वर्ष २४ हजार तीन सय ४९ प्रालितर्फका कम्पनी दर्ता भएका छन् । यो आव ०७९/८० को तुलनामा १८.९१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २० हजार चार सय ७६ प्रालि दर्ता भएका थिए । नाफा आर्जन गर्ने उद्देश्यले दर्ता भएका अधिकांश व्यवसायी तथा उद्योगीले प्रालिमै कम्पनी दर्ता गर्छन् । 

पब्लिक लिमिटेडमा भने जम्मा ६६ कम्पनी खुलेका छन् । यो आव ०७९/८० को तुलनामा २१.४३ प्रतिशतले कम हो । हरहिसाब पारदर्शी राख्नुपर्ने, निश्चित पुँजी कायम राख्नुपर्नेजस्ता प्रावधानले पब्लिक कम्पनीतर्फको आकर्षण बढ्न सकेको छैन । 

गत आवमा उद्योग चलाउने उद्देश्यले बढी कम्पनी दर्ता भएका छन् । आव ०८०/८१ मा पाँच हजार ९५ उद्योग खोल्ने उद्देश्य बोकेका कम्पनी दर्ता भएका छन् । ०७९/८० मा तीन हजार नौ सय ६६ यस्ता कम्पनी खुलेका थिए । शिक्षा र स्वास्थ्यतर्फका कम्पनी पनि वृद्धि भएका छन् । यद्यपि, कृषितर्फका कम्पनी दर्ता भने ५.२६ प्रतिशतले कम भएका छन् । 

मुनाफा वितरण नगर्ने कम्पनीमा आकर्षण 
मुनाफा वितरण नगर्ने (मुविन) कम्पनी दर्ता भने बढेको छ । कार्यालयअनुसार आव ०८०/८१ मा आठ सय १४ मुविन कम्पनी दर्ता भएका छन् । यो आव ०७९/८० भन्दा १९.५३ प्रतिशतले बढी हो । सो आवमा ६ सय ८१ यस्ता कम्पनी दर्ता भएका थिए । गैरसरकारी संस्था (एनजिओ)को विकल्पमा चलाउन सकिने यस्तो संस्था दर्ता गर्न जिल्ला प्रशासन कार्यालयमा (सिडिओ) झन्झटिलो प्रक्रिया हुने भएकाले कम्पनी रजिस्ट्रारको कार्यालयमा आकर्षण बढेको छ ।

देशमा विदेशी लगानी भित्र्याउने तथा शाखा खोल्ने उद्देश्य राखी पाँच सय १७ कम्पनी दर्ता भएका छन् । यो ०७९/८० मा दर्ता भएको एक सय ७२ भन्दा दुई गुणाले बढी हो । 

कोभिडपछि लगानीको वातावरण सहज बन्ने अपेक्षासहित विदेशी लगानी भित्र्याउन कम्पनी दर्ता गरी बस्नेको लहर चलेको देखिन्छ । योसँगै विदेशी लगानी प्रतिबद्धता पनि उल्लेख्य रूपमा आएको उद्योग विभागले जनाएको छ । ०८०/८१ मा ३८ अर्ब विदेशी लगानी प्रतिबद्धता भित्र्याउने लक्ष्य राखिएकोमा ६१ अर्ब ७८ करोड विदेशी लगानी प्रतिबद्धता आएको छ । 

एक हजार सात सय ३४ कम्पनी खारेजीमा
नयाँ कम्पनी दर्ता भएसँगै खारेजी हुने प्रवृत्तिमा पनि कमी आएको छ । कार्यालयअनुसार आव ०८०/८१ मा एक हजार सात सय ३४ खारेजी भएका छन् । यो आव ०७९/८० को तुलनामा २७.०८ प्रतिशतले कम हो । सो अवधिमा दुई हजार तीन सय ७८ कम्पनी खारेज भएका थिए । कोभिडपछि कम्पनी सञ्चालन गर्न नसकेर व्यवसायी खारेज गर्न बाध्य भएका थिए । तर, बिस्तारै आर्थिक सुधार हुने अपेक्षा बढ्दै जाँदा कम्पनी खारेज गर्नेको संख्यामा कमी भएको हुन सक्ने कार्यालयका अधिकारीहरू बताउँछन् । 

सुझावित समाचार