ओलम्पिकमा अहिलेसम्म नतोडिएका रेकर्ड

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

फ्रान्सको पेरिसमा ३३औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)मा आबद्ध दुई सय ६ राष्ट्रका १० हजार ६ सय खेलाडीले पेरिसमा प्रतिस्पर्धा गरिरहेका छन् । ती खेलाडीको एउटै चाहना राष्ट्रलाई कीर्तिमानसहित पदक दिलाउनु हो । तर, सबैका इच्छा पूरा हुन गाह्रो छ । केही सीमित खेलाडीले मात्र रेकर्ड राखी पदक जितेका हुन्छन् । फ्रान्सका विभिन्न १६ सहरमा ओलम्पिक दुई साता चल्दा सहभागी खेलाडीले ३२ खेलमा ३२९ इभेन्ट्स आ–आफ्नो चुनौती प्रस्तुत गर्नेछन् । विगतमा जस्तै पेरिस ओलम्पिकमा पनि रेकर्ड बन्ने निश्चित छ । खेलाडीले पुरानो तोडेर नयाँ रेकर्ड बनाउनेछन् । तर, ओलम्पिक खेल इतिहासमा कतिपय यस्ता रेकर्ड छन्, जुन तोडिन असम्भव छ । भनिन्छ पनि रेकर्ड बन्नकै लागि हो । तर, ओलम्पिक खेलवृत्तमा त्यस्ता रेकर्ड अपवादका रूपमा रहेका छन्, जुन अजय छन् । 

जिम्न्यास्टिकमा १० मा १० अंक बटुल्ने नादिया

रोमानियाकी महिला जिम्न्यास्टिक खेलाडी नादिया इलेना कोमानेसीसँग ओलम्पिकमा पाँच स्वर्ण पदक जितेको कीर्तिमान रहेको छ । १४ वर्षमै इलेनाले ओलम्पिकमा डेब्यु गरेकी थिइन् । सन् १९७६ मा मोन्ट्रियलको ओलम्पिकमा उनले कीर्तिमानसहित तीन स्वर्ण पदक जितेकी थिइन् । जिम्न्यास्टिकमा १० मा १० अंक बटुल्ने उनी पहिलो खेलाडी हुन् । उनको रेकर्ड अन्य जिम्न्यास्टिक खेलाडीले तोडेका छैनन् । सन् १९८० मा मस्को ओलम्पिकमा उनले दुई स्वर्ण पदक जितेकी थिइन् । उनले ओलम्पिक, विश्व च्याम्पियनसिप, विश्वकप, युरोपियन च्याम्पियनसिपसहित विभिन्न प्रतियोगितामा गरेर देशलाई २३ स्वर्ण, आठ रजत र दुई कांस्य पदक दिलाइन् । उनले सन् १९८४ मा सन्न्यास लिएकी थिइन् । 

दशपटक ओलम्पिक खेल्ने मिलर
क्यानडाका घोडचढी खेलाडी इयान मिलर सर्वाधिक दशपटक ओलम्पिक खेल्ने खेलाडी हुन् । उनले सन् १९७२ देखि २०१२ सम्म ४० वर्ष लगातार ओलम्पिकमा क्यानडाको प्रतिनिधित्व गरेका थिए । एक ओलम्पियनले पहिलोपटक लामो समय प्रतियोगिता खेलेका खेलाडीमा उनको नाम शीर्ष स्थानमा छ । अस्ट्रियाका सौलर हुबर्ट राउडासल, लात्भियाली सुटर अफानासिज कुज्मिनस, सोभियत संघका पूर्वसुटु निनो सालुकभाड्जेले आठपटक ओलम्पिक खेलेका थिए । दशपटक ओलम्पिकमा भाग लिँदा पनि मिलर ओलम्पिक स्वर्ण पदकविहीन रहे । सन् २००८ मा बेइजिङ ओलम्पिकमा उनले रजत पदक जितेका थिए । 

बोल्टको सय मिटरमा स्वर्ण
उसेन बोल्ट सय मिटर दौडका बादशाह नै हुन् । यस विधामा उनी सहभागी हुँदा अन्य धावकले पदकको आशा नै गर्नुपर्दैनथ्यो । बोल्टले तीनपटक ओलम्पिक खेल्दा सय मिटर दौडमा रेकर्डका साथ स्वर्ण पदक जितेका थिए । सन् २०१२ मा लन्डनमा भएको ओलम्पिकमा ९.६३ सेकेन्डका साथ उनले नयाँ कीर्तिमान राख्दै आफ्नै नाममा रहेको रेकर्ड तोडे । उनले सन् २००८ को बेइजिङमा ९.६९ को समय निकाल्दै नयाँ कीर्तिमान बनाएका थिए । सन् २००९ बर्लिनमा उनले सय मिटर दौड ९.५८ सेकेन्डमा पूरा गर्दै नयाँ विश्वकीर्तिमान बनाएका हुन् । जमैका स्प्रिन्टर बोल्ट दुईपटक ओलम्पिकमा कीर्तिमान तोड्ने खेलाडी बनेका छन् । उनले दुई सय मिटर दौडमा पनि विश्व कीर्तिमान बनाएका छन् । जुन तोड्न असम्भवजस्तै देखिन्छ । ओलिम्पकमा उनले आठ स्वर्ण देशलाई जिताएका छन् ।

कम उमेरमा स्वर्ण जित्ने किम युन मी
दक्षिण कोरियाका किम युन मी ओलम्पिक इतिहासमा कम उमेरमा स्वर्ण पदक जित्ने खेलाडी हुन् । सन् १९९४ को लिले ह्यामर शीतकालीन ओलम्पिकमा किम युनले स्पिड स्केटिङमा १३ वर्ष ८६ दिनमा स्वर्ण पदक जितेकी थिइन् । उनले तीन हजार मिटरमा प्रतिस्पर्धा गर्दै यो कीर्तिमान आफ्नो नाममा लेखाएकी हुन् । उनले सन् १९९४ र सन् १९९८ मा लगातार दुई स्वर्ण पदक हात पारिन् । किमको युनको कम उमेरमै स्वर्ण जित्ने रेकर्ड असम्भवजस्तै छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले प्रतियोगितामा उमेरहद लगाएको छैन । किम युनले यो कीर्तिमान बनाएपछि अन्तर्राष्ट्रिय स्केटिङ युनियनले ओलम्पिक खेल्न कम्तीमा १५ वर्ष हुनुपर्ने नियम बनाएको छ । 

टेबुलटेनिसमा चीनको दबदबा
टेबलटेनिसमा चीनले सर्वाधिक स्वर्ण पदक जित्दै कीर्तिमान लेखाएको छ । चीनले सन् १९८८ को दक्षिण कोरियाको सोलमा टेबलटेनिसमा डेब्यु गरेको थियो । अहिलेसम्म चीनले ३७ मध्ये ३२ स्वर्ण टेबलटेनिसमा मात्र हात पारेको छ । दक्षिण कोरियाले तीन स्वर्ण पदक जितेको छ । जापान र  स्विडेनले समान एकपटक स्वर्ण जितेका छन् । चीनले टेबलटेनिसमा २० रजत र आठ कांस्य पनि जितेको छ । टेबलटेनिसमा चीनको दबदबा तोडिन गाह्रो देखिन्छ । 

२३ स्वर्ण जितेका माइकल फेल्प्स
अमेरिकन पौडीबाज माइकल फेल्प्सले आफ्नो विधामा कीर्तिमानी रूपमा २३ स्वर्ण हात पारेका छन् । सन् २०१६ को रियो ओलम्पिकसम्म सहभागी हुँदा उनले यो रेकर्ड बनाएका हुन् । ओलम्पिक खेल इतिहासमा एक खेलाडीको नाममा यो स्वर्ण संख्यानजिक अन्य खेलाडी पुग्न सकेका छैनन् । फेल्प्सले सन् २००८ को बेइजिङ ओलम्पिकमा सर्वाधिक आठ स्वर्ण पदक जितेका थिए । ओलम्पिकमा सहभागी आफ्नो विधामा उनले ८० प्रतिशत खेल आफ्नो पक्षमा पारेका छन् । समग्रमा उनले ओलम्पिकमा २८ पदक जितेका छन् । सन् १९५६ देखि १९६४ सम्म सोभियत संघकी जिम्न्यास्टिक खेलाडी लासिरा टेटिनानले १८ पदक जितेकी थिइन् । 

६ ओलम्पिकमा लगातार स्वर्ण पदक जितेका अलादर 
हंगेरीका फेन्सिङ खेलाडी अलादर गेरेभिचले लगातार ६ ओलम्पिकमा स्वर्ण पदक जितेका थिए । फेन्सिङमा २४ वर्ष कब्जा जमाउँदा उनले समग्रमा सात स्वर्ण ओलम्पिकमा हात पारे । सन् १९०४ को लन्डन ओलम्पिकमा दुई स्वर्ण हात पारेका छन् । गेरेभिचले सन् १९३२ देखि १९६० सम्म खेल्दा देशमा छुट्टै खुसी दिलाए । दोस्रो विश्वयुद्धका कारण दुईपटक ओलम्पिक रद्द भयो । बेलायती धावक सर स्टिभ रेडग्रेभले सन् १९८४ देखि सन् २००० सम्म पाँचपटक स्वर्ण पदक जितेका थिए । 

एजेन्सीहरूको सहयोगमा

See More On

सुझावित समाचार