ललित स्मृति यू–१८ लिगमा चौथो चरणका खेल सम्पन्न हुँदा ५६ गोल भएका छन् । सहिद स्मारक ‘ए’ डिभिनज लिगका १४ मध्ये १२ टोली सहभागी लिगमा २४ खेल सम्पन्न भए । प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै शीर्ष स्थानमा छ । पुलिसकै विक्रम गौतम ४ गोलसहित उच्चगोलकर्ताको दौडमा छन् । पहिलो खेलमा थ्री स्टारविरुद्ध ७–२ को जितमा चार गोल गरेका पुलिस स्कुलका उनी त्यसपछि गोलविहीन छन् । उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाउने खुड्किलोको रूपमा यो प्रतियोगिता लिने गरिन्छ । अहिले राष्ट्रिय टोलीमा रहेका अधिकांश खेलाडी यसअघि यू–१८ लिग खेलेका थिए ।
एन्फा पूर्वउपाध्यक्ष ललित श्रेष्ठको स्मृतिमा प्रतियोगिता पाँचौँपटक भएको हो । यसअघि भएको चार संस्करणमध्ये सुरुवाती दुई विभागीय टोली त्रिभुवन आर्मी क्लबले जित्यो । त्यसपछिका दुई संस्करण ब्रिगेड ब्वाइज (बिबिसी)ले जितेको हो । हाल बिबिसी रेलिगेसन भएर सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पुगेको छ ।
ललित स्मृतिमा पुलिसले थ्री स्टारविरुद्ध जितेको नतिजा नै सबैभन्दा ठूलो हो । ‘बी’ डिभिजनमा घटुवा भएको सशस्त्र प्रहरी बलको एपिएफले अर्काे घटुवा भएको खुमलटार युवा क्लबलाई ४–० ले पराजित गरेको छ । प्रतियोगितामा सात खेल बराबरी भएका छन् । पहिलो चरणमा ६ खेल हुँदा १४ खेलाडीले १८ गोल गरेका थिए । पहिलो चरणपछि भने प्रतियोगिता गोलसंख्या घटेको छ । दोस्रो र तेस्रो चरणमा समान १२ गोल भएका छन् । तेस्रो चरणमा भने १४ गोल भएको हो ।
विक्रम उच्च गोलकर्ताको दौडमा
विभागीय टोली पुलिसका विक्रम गौतम चार गोलसहित उच्च गोलकर्ताको दौडमा छन् । उनले पहिलो खेलमा थ्री स्टारविरुद्ध चार गोल गरे । पहिलो हाफमै उनले ह्याट्रिक गर्दा पुलिस ७–२ ले विजयी भएको थियो । पुलिसकै सुवास बमले तीन गोल गरेका छन् । उनले चौथो खेलमा जावलाखेलविरुद्ध दुई तथा थ्री स्टारविरुद्ध पहिलो खेलमा एक गोल गरेका हुन् । मच्छिन्द्रका कविर तामाङले पनि तीन गोल गरेका छन् । त्यस्तै, दुई गोल गर्ने खेलाडीमा आठजना छन् । न्युरोड टिम एनआरटीका विज्ञान खड्का र सन्तोष गोङ्वा, चर्च ब्वाइजका अमनबहादुर तामाङ, पुलिसका रञ्जित लामा, जावलाखेलका विवस दर्लामी, एपिएफका सुनील थिङ, थ्री स्टारका रोमन श्रेष्ठ तथा मच्छिन्द्रका रोनिक रानामगरले समान दुई गोल गरेका छन् । त्यस्तै, ३० खेलाडीले समान एक गोल गरेका हुन् ।