नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ को पहिलो चरणबाटै बाहिरिएका छन्।
फ्रान्सको राजधानी पेरिसस्थित एक्पो पोर्ट डे भर्सेल्समा स्यान्टु सेनेगलका इब्राहिम डियाबसँग ४–० को सहज सेटमा पराजित भएका हुन्।
स्यान्टुले खेल १०–१२, ३–११, ४–११, ५–११ ले गुमाए। स्यान्टु छनोट भएर ओलम्पिक खेल्ने तेस्रो खेलाडी हुन्। त्यसैले, उनीबाट दोस्रो चरणको आशा गरिएको थियो। तर, उनी पनि पहिलोचरणबाट माथि बढ्न सकेनन्।
सन् १९६४ बाट ओलम्पिकमा भाग लिन सुरु गरेको नेपालबाट स्यान्टुसहित तीन खेलाडीले मात्रै छनोट पार गरेका छन्। यसअघि संगिना वैद्यले सन् २००४ को एथेन्स र दीपक विष्टले सन् २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेर सहभागिता जनाएका थिए। दुवै तेक्वान्दोबाट छनोट भएका थिए।
स्यान्टुले नेपालमै भएको दक्षिण एसियाली छनोटमा नेपालकै संयोग कपालीलाई पराजित गर्दै ओलम्पिकमा स्थान बनाएका हुन्। उनी अस्ट्रेलियामा रहेर प्रशिक्षण गरिरहेका थिए। अस्ट्रेलियाबाट नै पेरिस पुगेका हुन्।
प्रिन्सले आज प्रतिस्पर्धा गर्दै
नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहालले आज प्रतिस्पर्धा गर्दै छन्। समूह ‘पी’ मा रहेका प्रिन्सले विश्व नम्बर दुई डेनमार्कका भिक्टर एक्सेल्सनको सामना गर्ने तालिका छ। खेल नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुनेछ। नेपालबाट पेरिस ओलम्पिकमा सात खेलाडी सहभागी छन्।