ताइवानमा आँधीले आठको मृत्यु

शनिबार, १२ साउन, २०८१
डिजिटल संस्करण

ताइवानमा ’टाइफुन गेमी’ आँधीले कम्तीमा आठजनाको मृत्यु भएको छ। केन्द्रीय आपतकालीन सञ्चालन केन्द्र (सिइओसी) को शुक्रबार जारी सिइओसीको तथ्यांकअनुसार चक्रवातको कारण एकजना बेपत्ता हुनुका साथै आठ सय ६६ जना घाइते भएका छन्। 

चक्रवात ताइवान छोडी चीनमा पुगे तापनि, मध्य र दक्षिणी ताइवानमा अविरल वर्षा जारी रहने सञ्चारमाध्यम फोकस ताइवानले रिपोर्ट गरेको छ।

आँधी प्रभावित क्षेत्रमा चक्रवातका कारण भएका विविध दुर्घटनामा परी मानिसहरूले ज्यान गुमाएकोे फोकस ताइवानले जनाएको छ।

ज्यान गुमाउनेहरूको अहिलेसम्म पहिचान हुन नसकेको जनाउँदै अनुसन्धान जारी रहेको फोकस ताइवानले रिपोर्ट गरेको छ। अझै पनि बेपत्ताहरूको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्।
 
सिइओसीका अनुसार आँधीका कारण विस्थापित भएका एक हजार दुई सय ३२ जनालाइ सुरक्षित राख्नका लागि दुई सय ७९ वटा आपतकालीन शिविर निर्माण गरिएको छ।

केन्द्रले ताइवानको पूर्वी र दक्षिणी भागमा अझै पनि  भारी वर्षाको सम्भावना  रहेको जनाएको छ। (रासस / एएनआई)

सुझावित समाचार