दोलखा भीमेश्वर मन्दिरको शिलामा दुईपटक पसिना आएपछि राष्ट्रप्रमुखको तर्फबाट क्षमापूजा

क्षमापूजामा हवन, यज्ञ, ग्रह शान्ति, मंगल शान्तिलगायत रुद्री पाठ तथा विशेष पूजासहितका कर्महरु गरियाे

शनिबार, १२ साउन, २०८१
डिजिटल संस्करण
दोलखा भीमेश्वर मन्दिरको शिलामा दुईपटक पसिना आएपछि राष्ट्रप्रमुखको तर्फबाट क्षमापूजा

मन्दिरको शिलामा दुईपटक पसिना आएपछि राष्ट्रप्रमुखको तर्फबाट क्षमापूजा गर्दै पुरोहितहरु । तस्बिर : नयाँ पत्रिका

क्षमापूजाको सम्पूर्ण खर्च राष्ट्रपति कार्यालय र सरकारले बेहोर्ने

दोलखा भीमेश्वर मन्दिरको शिलामा एक साताभित्रै दुईपटक पसिना आएपछि शुक्रबार राष्ट्रप्रमुखको तर्फबाट विशेष पूजाआजाकाे साथै क्षमापूजा गरिएको छ।

मन्दिरको शिलामा पसिना आएपछि राष्ट्र र जनतामा कुनै अनिष्ट नहोस् भन्दै राष्ट्रपति कार्यालयको तर्फबाट विशेष पूजाआजासहित क्षमापूजा गरिएको हो। राष्ट्रपति कार्यालयका प्रतिनिधिसहित दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा शुक्रबार मन्दिरपरिसरमा क्षमापूजा गरिएको हो।

राष्ट्रप्रमुखको तर्फबाट फूलपाती लिएर उपसचिव नेतृत्वको टोली पनि क्षमापूजामा सहभागी भएको र दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल आफैँ कर्ता बसेर क्षमापूजा गरेका थिए।

क्षमापूजामा हवन, यज्ञ, ग्रह शान्ति, मंगल शान्तिलगायत रुद्री पाठ तथा विशेष पूजासहितको कर्महरू गरिएको पूजामा संलग्न पुरोहितहरूले जनाएका छन्। क्षमापूजामा ११ पुरोहित ब्राम्हणहरूबाट भीमेश्वरको शिलामा अविच्छिन्न जलधारासहित लघुरुद्री पाठ गरिएकाे छ। यस्तै, मन्दिरपरिसरमै यज्ञ, होमाधी गरिनुका साथै मुलुक शान्तिको कामना गर्दै मांगलिक दोष शान्तिसहित ग्रहपूजासमेत गरिएको छ।

यस्तै, सरकार र स्थानीय जनताको तर्फबाट दुई जोर कालो बोका बली दिएर बली पूजासमेत गरिएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठले जानकारी दिए। क्षमापूजाको सम्पूर्ण खर्च राष्ट्रपति कार्यालय र सरकारले बेहोर्ने जनाइएको छ। 

राष्ट्र, राष्ट्रप्रमुख र जनतामा कुनै क्षति नहोस् भन्ने कामनाका साथ राष्ट्रप्रमुख, जनता र मन्दिर व्यवस्थापन समितिको तर्फबाट शुक्रबार भीमेश्वर मन्दिरमा बलिपूजासहित क्षमापूजा गरिएको दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितका सचिव राजेन्द्रनारायण श्रेष्ठले जानकारी दिए।

दुईपटक पसिना

भीमेश्वरको शिलामा साउन ५ गते र साउन ९ गते दुईपटक पसिना आएको थियो। भीमेश्वरको शिलामा पसिना आउँदा राष्ट्रप्रमुखकोमा ‘महाप्रसाद’ पठाउने र राष्ट्रप्रमुखको तर्फबाट सरकारी अधिकारीले क्षमापूजा गराउने प्रचलन छ। शिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास छ। पसिना आउँदा भीमेश्वरको शिला कालो र चम्किलो हुने गर्दछ।

पसिना आउँदा मन्दिरका घण्टीहरू निरन्तर बजाइन्छ। मानिसलाई झैँ तप/तप खस्ने पसिना सेतो कपासले पुछ्ने गरिन्छ। पसिना पुछिएको कपास महाप्रसादका रूपमा राष्ट्रपतिकहाँ पुर्याएपछि राष्ट्रपति कार्यालयले क्षमा पूजा पठाउने चलन छ। उक्त कपास सर्वसाधारणलाई समेत बाँड्ने गरिन्छ। यसअघि राजसंस्था हुँदा राजदरबारबाट राजाले क्षमापूजा पठाउने चलन थियो।  

क्षमापूजा गर्नुअघि भीमेश्वर मन्दिरपरिसरमा आयोजित कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सचिव राजेन्द्रनारायण श्रेष्ठले मन्दिरको इतिहास, शिलामा आउने पसिना, यसको महत्त्व र यसअघि पटक-पटक पसिना आउँदाको परिणामबारे जानकारी गराएका थिए।
 

सुझावित समाचार