बागमतीमा कांग्रेस–एमाले विवाद : एमालेको असहमतिले रोकियो शपथग्रहण

मुख्यमन्त्रीले मन्त्रालय टुक्र्याउने गरी बनाए १४ सदस्यीय मन्त्रिपरिषद्

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण

साना दलले च्याँखेदाउ थाप्दा प्रदेशमा मन्त्रिपरिषद् जम्बो बन्न पुगेको दाबी गर्दै गठबन्धन गरेका कांग्रेस–एमालेले बागमतीमा दुईदलीय सरकार बनाएका छन् । तर, दुईदलीय सरकार हुँदा पनि मन्त्रिपरिषद्को आकार घटाउन त परै जाओस् अझै बढाएर १४ पुर्याइएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रालय टुक्य्राउने गरी १४ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । कांग्रेसबाट मुख्यमन्त्रीसहित सात र एमालेबाट ६ गरी १३ सदस्यीय मन्त्रिपरिषदमा सहमति भए पनि आफ्नो पार्टी कांग्रेसलाई भागबन्डा पुर्याउन मुख्यमन्त्री लामाले एक मन्त्री थप गरेका हुन् । 

पूर्ववर्ती सरकारले मन्त्रालय टुक्य्राएर १३ पुर्याएकामा झनै बढाएर १४ कायम गर्न थालिएपछि सत्तासाझेदार एमालेले भने असहमति जनाएको छ । एमालेको असहमतिका कारण बिहीबार कांग्रेसबाट नियुक्त भएका प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र विमल ठकुरीको शपथ नै रोकिएको छ ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रालयको संख्या बढाउने विषयमा एमालेको असहमति रहेको बताए । प्रदेशमा दुुवैै दलले मुख्यमन्त्रीबाहेक ६–६ मन्त्रालय लिने सहमतिभन्दा बाहिर जान नसकिने उनले बताए । ‘मन्त्रालयको संख्या बढाउने विषयमा हाम्रो सहमति छैन । आफ्नो दल (कांग्रेस)भित्रको समस्या मिलाएर आउन सुझाव दिएका छौँ,’ थपलियाले भने, ‘दलभित्रको समस्यालाई लिएर मन्त्रालयको संख्या बढाउन मिल्दैन ।’

मुख्मयन्त्री लामाले दलभित्र (कांग्रेस) र सत्तासाझेदार (एमाले) सँग छलफलपछि मन्त्री र मन्त्रालयको संख्या टुंगो लगाएर बाँकी मन्त्रीहरूको शपथ गराइने बताए । मन्त्रीको स्वागतका लागि विभागीय मन्त्रालयका सचिवहरू गाडीसहित प्रदेश प्रमुख कार्यालय पुगेका थिए । तर, उनीहरू पनि मन्त्रीविनै फर्किएका थिए । झन्डा हालेर मन्त्री लिन पुगेका गाडी झन्डामा कभर हालेर फर्किएका थिए । मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री लामाले बुधबार शपथग्रहण गर्दा एमालेबाट ६ र कांग्रेसबाट तीन गरी नौ मन्त्री चयन गरेका थिए ।  

कांग्रेसभित्र किचलो
मन्त्री नियुक्तिका विषयमा कांग्रेसभित्र किचलो बढेको छ  । त्यही भएर कांग्रेसबाट बुधबार नियुक्त भएका तीनजनाले विनाविभागीय जिम्मेवारी पाएका थिए । जब कि एमालेबाट मन्त्री बनेका ६ जनाले बुधबार नै जिम्मेवारी पाएका थिए । संस्थापन इतर समूहलाई भागबन्डा पुर्याउन मुख्यमन्त्री लामाले बिहीबार कांग्रेसबाट मन्त्रालयको संख्याभन्दा बाहिर रहने गरी थप एक मन्त्री नियुक्ति गरेका थिए । 

कांग्रेसबाट विनाविभागीयमन्त्री रहेका मदुकुमार श्रेष्ठले तत्कालै मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने अडान राखेका छन् । त्यस्तै, कांग्रेसकै सामाजिक विकासमन्त्री कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउनुपर्ने अडान राखेका छन् । 

See More On

सुझावित समाचार