ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्य्राजुएट

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण

लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थी चीनको नानहाई बौद्ध एकेडेमी, चीनमा ग्य्राजुएट भएका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालय र नानहाई बौद्ध एकेडेमी चीनबीच दुई जोड दुई  (टु प्लस टु) सम्झौताअन्तर्गत विश्वविद्यालयका ३४ जना विद्यार्थी नानहाई अध्ययनका लागि पुगेका थिए ।

स्नातक तहमा ट्राभल एन्ड टुरिजम विषय अध्ययन गरिरहेका विद्यार्थीमध्ये पहिलो पटक ३४ जना विद्यार्थी चीन पुगेका हुन्। उनीहरूले अध्ययन सकेको अवसरमा नानहाईले ग्य्राजुएसन समारोह आयोजना गरेको थियो । चारवर्षे कोर्सअन्तर्गत पहिलो चरणमा तीन वर्ष लुम्बिनीमा अध्ययन गरेका विद्यार्थी एक वर्ष अध्ययनका लागि चीनको नानहाई एकेडेमीमा पुगेका हुन् ।

केन्द्रीय क्याम्पस लुम्बिनी र सिटी क्याम्पस बुटवलका विद्यार्थीले दुई सेमेस्टरको कक्षा सकेका छन्। उनीहरूको ग्य्राजुएट समारोहमा नानहाईका अध्यक्ष मास्टर इनसुन, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य, रजिस्ट्रार डा. तिलकराम आचार्यसहितको सहभागिता रहेको थियो ।

नानहाई एकेडेमीमा हरेक वर्ष ४० जना विद्यार्थी अध्ययन गर्न जानेछन्। विश्वविद्यालयले एकेडेमीसँग दुई जोड दुई  (टु प्लस टु) सम्झौता गरेसँगै ट्राभल एन्ड टुरिजम विषयमा अध्ययनरत विद्यार्थीले दुई वर्ष लुम्बिनी र दुई वर्ष चीनमा अध्ययन गर्ने विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. कुमार खड्काले जानकारी दिए ।

चीनमा अध्ययन सकेका विद्यार्थीले लुम्बिनी बौद्धबाट अन्तिम प्रमाणपत्र प्राप्त गर्दै छन्। अध्ययन सकेका अधिकांश विद्यार्थीले रोजगारीका लागि अवसर पाइसकेको खड्काले बताए । कतिपय विद्यार्थीले चीनमै स्नातकोत्तर अध्ययन गर्ने पूर्णछात्रवृत्ति प्राप्त गरेका छन्।

विश्वविद्यालयले चालू शैक्षिक सत्रमा पनि बुटवल सिटी क्याम्पसमा स्नातक तहमा ट्राभल एन्ड टुरिजम विषयमा भर्ना खोलेको छ । दुई जोड दुई (टु प्लस टु) अन्तर्गत बुटवलमा दुई वर्ष कक्षा सकेपछि थप दुई वर्ष अध्ययन गर्न चीन जानेछन्। अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययन गर्दा विद्यार्थीको क्षमतामा वृद्धि देखिएको जनाइएको छ।

विश्वविद्यालयले कानुनतर्फ बिएएलएलबी र भाषातर्फ बिसिटीओएलमा पनि भर्ना खुलाएको छ । बिसिटिओएल पढ्न चाहने विद्यार्थीका लागि चन्दादाताबाट पूर्ण छात्रवृत्ति व्यवस्था गरिएको जनाइएको छ । विद्यार्थी एक्सचेन्ज कार्यक्रमअन्तर्गत चीनको युनान विश्वविद्यालयका विद्यार्थी नेपाली पढ्नका लागि लुम्बिनीमा आउने गरेका छन् । पहिलो ब्याचमा नौजना विद्यार्थीले एक सेमेस्टर लुम्बिनी पढेर फर्किएका छन् ।

विश्वविद्यालयले विदेशी विद्यार्थी आकर्षित गर्ने गरी छोटो अवधिका शैक्षिक कार्यक्रम पनि सुरु गर्न थालेको छ । बौद्ध अध्ययन संकायमार्फत सर्ट टर्म कोर्स सुरु गर्न लागिएको डिन डा. माणिकरत्न शाक्यले जानकारी दिए ।विश्वविद्यालयले मानविकी संकायअन्तर्गत एक महिनेदेखि ६ महिने अवधिका सीपमूलक कार्यक्रमसमेत सुरु गरेको छ । समुदायसँग विश्वविद्यालय कार्यक्रमअन्तर्गत हस्पिटालिटीअन्तर्गतका सीपमूलक शैक्षिक कार्यक्रम सुरु गरिएको हो । हाल विश्वविद्यालयमा करिब दुई हजार एक सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

सुझावित समाचार