पछिल्लो असारको अन्तिम हप्ता परेको अविरल वर्षासँगै आएको बाढीले स्थानीय किसानको आँपको बगैँचासहित खेतीयोग्य जमिन कटान गरी बस्ती नै जोखिममा परेपछि प्रदेश सांसदको टोलीले बिहीबार स्थलगत निरीक्षण गरेको छ । मधेश प्रदेश सभा प्राकृतिक स्रोत तथा वातावरण संरक्षण समिति र विकास समितिसहित पाँचजना प्रदेश सांसदको टोलीले लहान– २३ तिलेबोना गाउँनजिकै बाढीले कटान गरेको क्षेत्रको निरीक्षणसहित पीडित किसानसँग अन्तर्क्रिया गरेकाे छ । अन्तर्क्रियामा विकास समितिका सदस्य राजेन्द्रप्रसाद चौधरीले प्रदेश सरकारले दीर्घकालीन सोचसहित बहुवर्षीय योजनाअन्तर्गत कटान क्षेत्रको नियन्त्रण नगरिए ठूलो क्षति हुन सक्ने औँल्याए ।
‘स्थानीय सयौँ किसानको खेतबारी बगाएर सुकुम्बासी बनाएको बलानको कटान रोक्न तत्काल पहल नगरिए बस्ती नै जोखिममा पर्न सक्छ,’ उनले भने, ‘त्यसका लागि संघ, प्रदेश र स्थानीय सरकारको समन्वय हुनु अपरिहार्य छ ।’ आर्थिक वर्ष ०८०/८१ मा १९ अर्ब रकम खर्च गर्न नसकी फ्रिज हुँदा स्थानीय किसानले भने बजेट नपुगेर ५० मिटर तटबन्ध निर्माण गर्न नसक्दा ठूलो क्षति भोग्नु दुर्भाग्यपूर्ण रहेको उनको आरोप थियो ।
प्राकृतिक स्रोत तथा वातावरण संरक्षण समितिका सदस्यहरू मनोज सिंह, सञ्जिला यादव तथा ममता मण्डलले आफूहरूले स्थलगत निरीक्षणमा देखेको, स्थानीय किसानले उठाएका समस्याहरू लिपिबद्ध गरी प्रतिवेदनको रूपमा समितिमा छलफल गरी सभापतिमार्फत प्रदेश सभा, सम्बन्धित मन्त्रालयमा बुझाइने र सुनुवाइ नभए सदनमा कुरा उठाउने प्रतिबद्धता जनाए । उब्जाएर खाने जग्गा बलानले कटान गरेर बगर बनाएपछि सयौँ किसानको उठीवास हुने अवस्था तत्काल रोक्न पनि नदी नियन्त्रणको काम गरिनुपर्ने औँल्याउँदै उनीहरूले त्यसका लागि आफूहरूको सक्दो प्रयास रहने उल्लेख गरे ।
कटानले सयौँ किसान विस्थापित
करिब १५ वर्षअघि डेढ किलोमिटर पूर्वतिरबाट बग्ने बलान खोला सात सय मिटर पश्चिम दक्षिण सोझिएर बग्न थालेपछि बिघौँबिघा जग्गा कटान हुँदा सयौँ किसान सुकुम्बासी भएको स्थानीय हरिनारायण यादवको गुनासो थियो । उनका अनुसार बर्सेनिको कटानले तिलेबोना गाउँनजिकै पर्ने बसनपुर मौजाको २२ बिघा, भगवतीपुर मौजाको ५२ बिघा र सिम्राहा मौजाको ८४ बिघा खेतीयोग्य जग्गा बलानले कटान गरिसकेको छ ।
अन्तर्क्रियामा जिल्ला समन्वय समिति सिराहाका प्रमुख दिनेशकुमार महतोले नदी नियन्त्रणमा लागि आफूसहित गाउँलेहरूले समेत चन्दा उठाएर प्रयास गरेको स्मरण गर्दै भने, ‘यसपटक प्रदेश र स्थानीय सरकारको एक करोड ४५ लाख रुपैयाँको बजेटमा ३१५ मिटर तटबन्ध निमाण गरेका छाैँ । कटानको जोखिम रहेको करिब ११० मिटर खण्डमा बजेट पुगेन,’ उनले भने, ‘बाँकी भागमा तटबन्ध निर्माण गर्न ५५ लाख रुपैयाँका लागि हारगुहार गरियो, प्रदेशले बजेट छुट्यायो पनि, तर सरकार फेरियो, बजेट नआउँदा त्यसको मार किसानले भोग्नुपर्यो ।’
नेपाल मधेश फाउन्डेसनको सहकार्यमा आयोजित अन्तर्क्रियामा संसद् सहयोग परियोजनाअन्तर्गत युएनडिपीका बिटुबाबु श्रीवास्तवले बलानको कटानले गरेको र गर्न सक्ने सम्भावित क्षति रोक्न तत्काल बायोइन्जिनियरिङ उपयोग गरिनुपर्ने बताए। फाउन्डेसनका कृष्णकुमार साहले बढ्दो चुरे विनाश र नदीजन्य पदार्थको अनियन्त्रित दोहनको मार तल्लो तटीय क्षेत्रका किसानले भोग्नु परिरहेकाले स्थानीय, प्रदेश र संघीय सरकार जवाफदेही बन्नुपर्ने उल्लेख गरे। लहान नगरपालिका– २३ का वडाध्यक्ष बद्री यादवले स्थानीय किसानको समस्या सम्बोधनका लागि गम्भीर बनिदिन प्रदेश सांसदहरूलाई आग्रह गरे ।
पछिल्लो असारमा बलान खोलामा आएको बाढीले टिप्ने वेला भएको आँपको बगैँचा नै कटान गर्न थालेपछि करिब एक दर्जनभन्दा बढी स्थानीय किसानले जेसिबी लगाएर बगैँचा नै उजाडेका थिए । बाढीले आँपको बगैँचा कटान भए पनि बाँकी भागको सुरक्षाका लागि तत्काल नियन्त्रण नगरिए करिब एक सय घरको तिलेबोना गाउँ नै जोखिममा पर्न सक्ने गाउँलेहरू बताउँछन् ।
बलान तटीय क्षेत्रमा पर्ने लहान नगरपालिका ३, ४, ५, ९, १०, १९ र २३, सखुवान्कारकट्टी गाउँपालिका ३ र ४ अन्तर्गत परिहारपुर, इटहर्वा, सिम्राहा, सखुवा तथा भगवानपुर गाउँपालिका १, ३ र ४ वडामा पर्ने भगवानपुर, लालपुर, कल्याणपुर, सिनुरिया र मरिकटोल बाढी, डुबान र कटानको जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।