ज्योति विकास बैंकले १६औँ वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सवको अवसर पारेर परिमार्जित, परिष्कृत तथा प्रयोगकर्तामैत्री नयाँ आधिकारिक वेबसाइट पनि सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष हरिचन्द्र खड्काले डिजिटल प्रविधिमार्फत वेबसाइटको औपचारिक सुरुवात गरे ।
उक्त वेबसाइटमा बैंकले प्रदान गरिरहेको सेवा–सुविधाको सहज जानकारी, अनलाइनबाटै कर्जा आवेदन, भिडियो बैंकिङमार्फत खाता खोल्ने, क्युआर कोडलगायत विभिन्न बैंकिङ सुविधा उपलब्ध हुनेछन् ।
वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ, जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारण गरी ५० जनाले रक्तदान गरे । सोही कार्यक्रममा बैंकमा १० देखि १५ वर्षसम्म निरन्तर काम गर्ने २७ जना कर्मचारीलाई सम्मानित भएका छन् । उनीहरूलाई अध्यक्ष खड्का तथा प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले पदक तथा कदरपत्र प्रदान गरेका हुन् ।
अध्यक्ष खड्काले बैंकको १६ वर्षको गौरवपूर्ण यात्रालाई सफल बनाउन सहयोग गर्ने सबैमा कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।