सुप्रसिद्ध लोकगायक एलपी जोशीको ८८ वर्षको उमेरमा निधन

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण

सुप्रसिद्ध लोकगायक एलपी जोशीको निधन भएको छ । दमक– १ निवासी जोशीको ८८ वर्षको उमेरमा बिहीबार साँझ ८ बजे निधन भएको हाे । खासगरी बिनायो बाजालाई देशभर चिनाउने जोशीका एक दर्जनभन्दा बढी लोकगीत छन्।

उनका ‘ओल्लो खोलो, पल्लोखलो’, ‘रिटिङरिटिङ नबजाऊ बिनायो’, ‘कान्छी मट्याङट्याङ’लगायत गीत चर्चित छन् । उनी ८८ वर्षको उमेरमा पनि लोकगीत र संगीतमा त्यत्तिकै सक्रिय थिए । जोशीले गत आइतबार सुरभि कलाकेन्द्र दमकले आयोजना गरेको गुरुपूर्णिमा विशेष कार्यक्रममा समेत जोशिलो भएर ‘ओल्लो खोलो, पल्लोखलो’, ‘रिटिङरिटिङ नबजाऊ बिनायो’ गीत प्रस्तुत गरेको साहित्यकार धनकुटे कान्छाले बताए ।

‘खासै बिरामी हुनुहुन्थेन । सुगरको औषधि नियमित खानुहुन्थ्यो । केही दिनयता अलिक थकित छु । म गलेँ भन्नुहुन्थ्यो,’ साहित्यकार धनकुटे कान्छाले भने, ‘खाना खाँदाखाँदै बेहोस हुनुभएछ । अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरे ।’ बिनायो बाजालाई नेपालभर चिनाउने जोशी ८८ वर्षको उमेरमा पनि निकै जोशिला थिए । उनी पूर्वमा हुने कार्यक्रमहरूमा देखिन्थे । 

रिटिङ रिटिङ नबजाउ बिनायो
बिनायोले मन मेरो छिनायो
ऐयाया अक्काका...

‘बिनायोको मायाले बनाएको गीतले मलाई चर्चामा ल्यायो,’ नयाँ पत्रिकासँग जोशीले तीन वर्षअघि भनेका थिए । जोशीले यो गीत २०१८ सालमा रेडियो नेपालमा रेकर्ड गराएका थिए । ‘त्यो वेला हामी राजा महेन्द्रको राज्यभिशेकमा गीत गाउन नेपाल (काठमाडौं) गएका थियौँ । गीत पो रेकर्ड गरेर फर्किएँ,’ उनले भनेका थिए, ‘रेडियो नेपालमा गीत गाउन पाउनु त त्यसवेला ठूलो सपना हुन्थ्यो । त्यो पूरा गरेर फर्किएँ ।’

जोशीले ०१९ सालमा राष्ट्रिय लोकगीत प्रतियोगितामा भाग लिँदै प्रथम भएर राजा महेन्द्रबाट स्वर्ण पदक पाएका थिए । जोशीले विभिन्न संघसंस्थाबाट सयौँ सम्मान पाएका छन् । तर, रेडियो नेपालले दिएको ‘सुप्रसिद्ध लोकगायक’को सम्मान आफैँलाई प्रिय लाग्ने तीन वर्षअघि नयाँ पत्रिकालाई बताएका थिए  । ‘मलाई वरिष्ठ लोकगायक, लोकसम्राटजस्ता सम्मान दिइयो,’ उनले तीन वर्षअघि नयाँ पत्रिकासँग भनेका थिए, ‘लोकगीत यात्राको पहिलो खुट्किलो रेडियो नेपालले दिएको सुप्रसिद्ध लोकगायकको सम्मान खास लाग्छ । यही भनेर बोलाए हुन्छ भन्ने लाग्छ।’

जोशी गायनमा मात्र हाेइन चित्रकलामा पनि अब्बल थिए । उनले घरका भित्तामा गाउँले परिवेशका ‘आर्ट’ गरेर झुन्ड्याएका छन् । ‘पहिला त गायन मात्र हाेइन । चित्रकला पनि गर्थेँ,’ उनले नयाँ पत्रिकासँग भनेका थिए, ‘त्यो समयमा रंग किन्ने पैसा नहुँदा खासै बनाउन पाइएन ।’ उनले तत्कालीन राजा वीरेन्द्रको चित्र बनाएर २०२९ सालमा एक हजार ‘बक्सिस’ पाएको नयाँ पत्रिकालाई बताएका थिए । ‘त्यसवेला राजा वीरेन्द्रले एक हजार दिनुभयो । त्यसवेलाको ठूलो पैसा हो,’ उनले भनेका थिए, ‘चित्रकलामा पनि केही गर्न सक्छु भन्ने लागेको थियो । तर, लोकगीतजस्तो अघि बढाउन सकिनँ ।’

सुझावित समाचार